शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा गोदावरी नगरपालिकाको वृहत सरसफाइ अभियान

धनगढी  : कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा गोदावरी नगरपालिकाले शुक्रबार वृहत सरसफाइ अभियान सञ्चालन गरेको छ।

वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा सार्वजनिक स्थललाई सफा र व्यवस्थित राख्ने उद्देश्यले आयोजित अभियानमा नगरपालिकाका सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि, नगर प्रहरी तथा सरसफाइ कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

अभियानका क्रममा सहभागीहरूले विश्वविद्यालय परिसरमा छरिएका फोहोर संकलन, व्यवस्थापन तथा सरसफाइ गर्दै परिसरलाई स्वच्छ, सफा र हराभरा बनाउने सामूहिक प्रयास गरेका थिए। यस अभियानले सार्वजनिक सम्पत्तिको संरक्षणसँगै स्वच्छ वातावरण निर्माणमा स्थानीय तहको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।

नगरपालिकाले यस्ता अभियानलाई नियमित रूपमा सञ्चालन गर्दै नागरिकमा सरसफाइप्रति जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, सार्वजनिक स्थलको सरसफाइ सरकारी निकायको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएकाले सबैलाई स्वच्छता अभियानमा सक्रिय सहभागिता जनाउन समेत आग्रह गरिएको छ।

स्थानीय तहको नेतृत्वमा सञ्चालित यस्तो अभियानले वातावरणीय संरक्षण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा सामुदायिक सहभागितामार्फत स्वच्छ र सभ्य समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.