‘शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको मुद्दा हटाएर मात्रै अनशन बस्नुस्’ : संघर्ष समितिको डा. गोविन्द केसीलाई आग्रह
अत्तरिया : शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई जारी सत्याग्रह रोक्न वा विश्वविद्यालयसँग सम्बन्धित माग हटाएर मात्रै आन्दोलन अघि बढाउन आग्रह गरेको छ।
संघर्ष समितिका संयोजक लोकराज पाण्डेको नेतृत्वमा गएको टोलीले शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै डा. केसीको २४ औँ सत्याग्रहका कारण शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना तथा सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेको हो।
समितिले डा. केसीले उठाएका अन्य मागप्रति आफूहरूको असहमति नरहेको स्पष्ट पार्दै विश्वविद्यालयसँग सम्बन्धित माग भने पुनर्विचार गर्नुपर्ने जनाएको छ। संघर्ष समितिको भनाइमा विश्वविद्यालय स्थापना सुदूरपश्चिमवासीको दशकौँ लामो संघर्षको उपलब्धि भएकाले अहिले यसको कार्यान्वयनलाई अवरुद्ध गर्ने कुनै पनि गतिविधि उपयुक्त नहुने उल्लेख गरिएको छ।
संयोजक पाण्डेले विश्वविद्यालय सञ्चालनका लागि लामो समयदेखि सुदूरपश्चिमका नागरिकले निरन्तर संघर्ष गर्दै आएको स्मरण गराउँदै अहिले संस्थालाई गति दिने बेला विवाद सिर्जना हुने गतिविधि नगर्न डा. केसीलाई आग्रह गरिएको बताए। उनले अनशन जारी राख्ने भए विश्वविद्यालयसँग सम्बन्धित माग हटाएर मात्रै आन्दोलन गर्न समितिको अनुरोध रहेको जानकारी दिए।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै डा. गोविन्द केसीले बिहीबारदेखि धनगढीमा २४ औँ सत्याग्रह सुरु गरेका छन्। उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग सम्बन्धित निर्णयको पुनरावलोकन, चिकित्सा शिक्षा आयोगमा स्वार्थको द्वन्द्व हुने गरी गरिएका नियुक्ति बदरलगायतका माग अघि सारेका छन्।