धनगढी : २४ औँ सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । डा. केसी तीन दिनदेखि स्वास्थ्य क्षेत्रको सुधारको माग राखेर धनगढीमा अनशनरत रहेका छन् ।
शनिबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत डा. केसीलाई सेती अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए ।
परीक्षणमा डा. केसीको रक्तचाप ११०\९० र रगतमा सुगर ५० पाइएको थियो। सुगर अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै चिकित्सकले उनलाई तत्काल आईसीयूमा उपचार गर्न सुझाव दिएका थिए । सोही अनुसार उनलाई अस्पताल लगिएको हो ।
डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार स्वास्थ्य बिग्रिँदै जाँदा मांसपेशी बाउडिने, बोल्न असहज हुने, खुट्टाको शल्यक्रिया गरेकाले हिँडुल गर्न कठिन हुने र शौचालय जानसमेत समस्या भएको थियो ।
डा. केसी बिहीबारदेखि पाँचबुँदे माग राखेर सत्याग्रहमा बसेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा. जैशीसँग र राति करिब ११ बजे स्वयं डा. केसीसँग टेलिफोनमा कुरा गरेका थिए । संवादमा मन्त्री पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
डा. केसीले आफ्ना पाँच मागसँगै शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ३०० शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन थालनी र स्वार्थप्रेरित उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने मुख्य अडान राखेका थिए ।
मन्त्री पोखरेलले माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने र सम्भव भए आफैँ धनगढी आउने प्रतिबद्धता जनाएको डा. जैशीले बताए ।