एमाले–नेकपा सहमतिपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्ने, खगराज भट्ट मुख्यमन्त्री बन्ने बाटो खुल्यो

अत्तरिया  : नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँट सम्बन्धी राजनीतिक सहमति भएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्ने भएको छ। सहमतिसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको तयारी तीव्र हुने अपेक्षा गरिएको छ।

दुई दलबीच भएको सहमतिअनुसार एमालेले तीन प्रदेश सरकारको नेतृत्व गर्नेछ भने नेपाली कम्युनिस्ट पार्टीले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएको छ। यससँगै सुदूरपश्चिम प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने राजनीतिक आधार बलियो बनेको छ।

लामो समयदेखि प्रदेशको नेतृत्वका लागि चर्चामा रहेका भट्ट अब दलगत सहमतिअनुसार सरकार गठन प्रक्रियामा अग्रसर हुने भएका छन्। प्रदेश सरकारको नेतृत्व परिवर्तनसँगै नयाँ सत्ता समीकरणअनुसार सरकार गठन हुने निश्चितजस्तै भएको राजनीतिक वृत्तको बुझाइ छ।

यद्यपि, सरकार गठनको औपचारिक प्रक्रिया, सत्ता साझेदारी, मन्त्रालयको बाँडफाँट तथा साझा न्यूनतम कार्यक्रमलगायत विषयमा दुवै दलबीच थप छलफल हुने बताइएको छ। आवश्यक संवैधानिक तथा संसदीय प्रक्रिया पूरा भएपछि सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्वसहित सरकार गठन हुने अपेक्षा गरिएको छ।

राजनीतिक सहमतिले सुदूरपश्चिमको सत्ता समीकरणमा नयाँ मोड ल्याएको छ भने आगामी सरकारको संरचना र मन्त्रालय बाँडफाँटलाई लिएर राजनीतिक चासो समेत बढेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.