धनगढी : सत्याग्रहरत प्रा. डा. गोविन्द केसी र सरकारका प्रतिनिधिबीच धनगढीमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सेती प्रादेशिक अस्पतालको आईसीयू कक्षमा पुगेर डा. केसीसँग भेट गरेका हुन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार केही समयपछि दुवै पक्षबीच औपचारिक वार्ता हुने तयारी गरिएको छ। उनका अनुसार अस्पतालमै वार्ता गर्ने प्राथमिक तयारी भए पनि आवश्यक परे प्रदेशको सामाजिक विकास मन्त्रालयमा वार्ता गरिनेछ। वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल पनि धनगढीमा रहेका छन्।
डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरिएको नियुक्ति बदर गर्न, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा मापदण्ड र पूर्वाधारबिनै निजी मेडिकल कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्न माग गर्दै अनशन सुरु गरेका छन्।
उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था शीघ्र कार्यान्वयन गर्न, विगतमा सरकारसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्न तथा चिकित्सा शिक्षा क्षेत्रमा सुधारका बाँकी काम पूरा गर्न पनि सरकारसँग माग गरेका छन्।
त्यसैगरी, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यक पूर्वाधार र सेवा विस्तार गर्नुपर्ने, भदौ २३ र २४ मा भएका हत्या, आगजनी, लुटपाट तथा तोडफोडका घटनाका दोषीमाथि कडा कारबाही गर्नुपर्ने र २०४६ सालयता उच्च पदस्थ राजनीतिज्ञ तथा पदाधिकारीमाथि लागेका भ्रष्टाचार र अपराधका आरोपको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।
सरकार र डा. केसीबीच हुने औपचारिक वार्ताबाट अनशनका मागबारे सहमति जुट्ने अपेक्षा गरिएको छ।