गेटा अस्पताल तत्काल ३०० बेडमा सञ्चालन गर्नुपर्छ, त्यसपछि मात्रै विश्वविद्यालयको औचित्य पुष्टि हुन्छ : प्रदीप पौडेल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० शय्याको क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अस्पतालको क्षमता विस्तार नगरी विश्वविद्यालयको उद्देश्य पूरा नहुने र एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने बताएका छन्। उनका अनुसार विश्वविद्यालयको मेरुदण्ड नै शिक्षण अस्पताल भएकाले यसको स्तरोन्नति पहिलो प्राथमिकता हुनुपर्नेछ।

गेटा अस्पताल सञ्चालनका लागि व्यावहारिक विकल्प पनि प्रस्तुत गर्दै पौडेलले पूर्वस्वीकृति प्राप्त सेती प्रादेशिक अस्पताललाई गेटामा गाभी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकै जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाए न्यूनतम लागतमा अस्पताल सञ्चालनसँगै शैक्षिक गतिविधि अघि बढाउन सकिने उल्लेख गरेका छन्।

पौडेलले आफू स्वास्थ्य मन्त्री रहँदा आर्थिक वर्ष २०८२\८३ को बजेटमार्फत गेटा अस्पताल सञ्चालन र शैक्षिक कार्यक्रम सुरु गर्न आवश्यक स्रोत सुनिश्चित गरिएको स्मरण गराउँदै त्यसबेला पनि तथ्य नबुझी केही पक्षबाट विरोध भएको बताएका छन्। “अस्पतालको क्षमता अभिवृद्धि गरेर शिक्षण कार्यक्रम सञ्चालन गर्ने हाम्रो स्पष्ट तयारी थियो,” उनले फेसबुकमा लेखेका छन्।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग गर्दै थालेको सत्याग्रहप्रति पनि पौडेलले समर्थन जनाएका छन्। उनले उक्त आन्दोलन विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको उल्लेख गर्दै अस्पताल सञ्चालन र क्षमता विस्तारमा विभिन्न बहानामा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

पौडेलले गेटा अस्पताललाई तत्काल ३०० शय्याको क्षमतामा सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक र दीर्घकालीन समाधान भएको दोहोर्‍याएका छन्। उनका अनुसार यसो नगरी विश्वविद्यालयको औचित्य पुष्टि हुनुका साथै एमबीबीएस पठनपाठन सुरु हुने आधारसमेत तयार हुन सक्दैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.