सरकार र डा. केसी वार्ता निष्कर्षविहीन, आज निर्णायक छलफल

अत्तरिया  : अनशनरत डा. गोविन्द केसी र सरकारबीच आइतबार भएको करिब ११ घण्टा लामो वार्ता निष्कर्षमा पुग्न सकेन। शिक्षा मन्त्रालयको नेतृत्वमा गठित सरकारी वार्ता टोली र डा. केसी पक्षबीच सेती प्रादेशिक अस्पतालमा दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म चलेको छलफलपछि अधिकांश विषयमा सहमति नजिक पुगे पनि दुई महत्वपूर्ण मागमा अझै सहमति जुट्न नसकेको हो।

वार्ता टोलीका एक सदस्यका अनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्ने तथा निजी मेडिकल कलेजमा एमबीबीएस अध्ययनको सिट संख्या निर्धारण गर्ने विषयमा मतभेद कायम रहेकाले सोमबार बिहान १० बजे पुनः वार्ता गर्ने सहमति भएको छ।

सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशचन्द्र अग्रवाल र पुकार बम वार्तामा सहभागी थिए। डा. केसीको तर्फबाट डा. अमृत जैसी र पवन थापाले प्रतिनिधित्व गरेका थिए। प्रारम्भिक चरणमा सरकारी टोलीले डा. केसीका प्रतिनिधिसँग छलफल गरेको थियो भने त्यसपछि डा. केसीसँग प्रत्यक्ष संवाद गरिएको थियो।

डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने, ३०० शय्याको अस्पताल तत्काल सञ्चालनका लागि संगठन तथा व्यवस्थापन (ओएनएमं स्वीकृत गर्नुपर्ने र एमबीबीएस अध्ययन तत्काल सुरु गर्नुपर्ने माग राख्दै आएका छन्।

वार्ताका क्रममा सरकारले गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्ने, एमबीबीएस अध्ययन सुरु गर्ने, छात्रवृत्ति ऐन कार्यान्वयन गर्ने तथा विगतका सहमतिहरू कार्यान्वयन गर्ने विषयमा सकारात्मक प्रतिबद्धता जनाएको छ। तर विश्वविद्यालयका पदाधिकारी हटाउने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको जनाइएको छ।

निजी मेडिकल कलेजमा एमबीबीएस सिट संख्याको विषय पनि विवादको केन्द्र बनेको छ। हाल केही मेडिकल कलेजमा १३० जनासम्म विद्यार्थी भर्ना भइरहेका छन्। सरकारले सिट संख्या बढाउने पक्षमा रहे पनि डा. केसीले मापदण्ड पूरा नगरेका कलेजको सिट घटाउनुपर्ने अडान राखेका छन्। यही विषयमा सोमबार थप छलफल हुने बताइएको छ।

सरकारी स्रोतका अनुसार रजिष्ट्रार हटाउने विषयमा सरकार केही लचक देखिए पनि उपकुलपतिका विषयमा अझै सहमति बनेको छैन। पदाधिकारी नियुक्तिमा भूमिका खेलेका सांसद केपी खनाल र आनन्द चन्दसँग पनि सरकारी पक्षले वार्ताका क्रममा पटक–पटक संवाद गरेको थियो।

डा. केसी शुक्रबारदेखि धनगढीमा अनशनरत छन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचारसँगै अनशन जारी राखिएको छ। आज हुने वार्तालाई दुवै पक्षले निर्णायक मानिरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.