बैतडी : बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा १ कलौन घर भएकी २२ बर्षीय अस्मिता भट्टको घाँस काट्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घरबाट बिहान घाँस काट्न जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर २ कैलडाडा गएकी भट्टको जमिन भासिएर माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिँहले जानकारी दिए ।
सोमबार बिहान घाँस काट्न गएकी भट्टको ९ ः ३० बजे ढुङ्गा लागेर घटनास्थलमा मृत्यु भएको जनाएको छ। मृतक भट्टको सब पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याउने काम भैरहेको छ भने घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतमा उल्लेख गरिएको छ ।