बैतडीमा लौरोले कुटेर गोरुलाई भिरबाट फाल्ने नाबालक पक्राउ

अत्तरिया  : गोरुलाई मरासन्न हुने गरी कुटपिट गरेर भिरबाट फाल्ने बैतडीका एक नाबालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाटन नगरपालिका–१ लदैलीका नाबालक रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

स्थानीय जंगलमा आफ्नै गोरुलाई लौरोले कुटपिट गरी खुट्टा भाँचिएपछि भिरबाट फालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न नाबालकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पाटनले गोरुलाई कुटपिट गर्ने नाबालक र घटनाको भिडियो बनाउने अर्का व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। सोधपुछपछि भिडियो बनाउने व्यक्तिलाई छाडिएको र गोरुलाई कुटपिट गर्ने नाबालकमाथि पशुपन्छीसम्बन्धी प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सामाजिक संजालमा भाइरल भिडियोमा ती नाबालकले गोरुलाई लौरोले कुटपिट गर्दै खुट्टा भाँचिएको देखिन्छ। त्यसपछि गोरुलाई भिरबाट खसाल्दै ‘जय हनुमान’ लगायतका शब्द उच्चारण गरेको सुनिन्छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.