अत्तरिया : धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु भएपछि घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइती पक्ष आक्रोशित छ। माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनका श्रीमान भरत धामीसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
गत सोमबार धनगढी–४ मा पूजा धानुकको मृत्यु भएको थियो। कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तीथला माइती भएकी पूजाका आमाबुबा रोजगारीका लागि भारतमा बस्दै आएका छन्।
मृतककी आमाका अनुसार घटनाकै दिन पूजाले आफूसँग लामो समय फोनमा कुराकानी गरेकी थिइन्। त्यसको केही समयपछि पूजाका श्रीमान भरत धामीले पूजाले झुन्डिएर आत्महत्याको प्रयास गरेको र उपचारका लागि अस्पताल लगिएको जानकारी दिएका थिए। तर, माइती पक्षले पूजाको हत्या भएको आशंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरेको छ।
मृतककी कान्छी आमाका अनुसार पनि पूजाले घटनाकै दिन आफूलाई बोलाएकी थिइन्। कामको व्यस्तताका कारण जान नसकेको र केही समयपछि पूजाको मृत्यु भएको खबर पाएको उनले बताएकी छन्।
आफन्तहरूका अनुसार पूजाको नौ महिनाअघि भरत धामीसँग विवाह भएको थियो। पूजाले पाठेघरसम्बन्धी स्वास्थ्य समस्याका कारण परिवारमा विवाद हुने गरेको तथा आफू पारिवारिक तनावमा रहेको कुरा आफन्त र गाउँका दिदीबहिनीहरूसँग पटक–पटक सुनाउने गरेको उनीहरूको दाबी छ।
बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका मृतकका आफन्तहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टले माइती पक्षबाट प्राप्त किटानी जाहेरीका आधारमा श्रीमान भरत धामीसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।
प्रहरीका अनुसार सोमबार साँझ पूजा धानुक घरभित्रको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनका श्रीमानले उनलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।