अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–५, गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा शहीद दशरथ चन्दको शालिकसहितको पार्क निर्माण गर्न माग गरिएको छ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालय प्रशासन तथा सम्बन्धित सरोकारवालासँग पार्क निर्माणको माग राख्दै प्रक्रिया अघि बढाउन पहल थालेको हो।
समितिका सदस्य लोकेन्द्र धामीका अनुसार पार्क निर्माणका विषयमा विश्वविद्यालय प्रशासन र सरोकारवालाबीच पहिलो चरणमा भएको अनौपचारिक छलफल सकारात्मक रहेको छ। देशका लागि महत्वपूर्ण योगदान र बलिदान दिएका शहीद चन्दको सम्मान तथा नयाँ पुस्तालाई उनको योगदान र इतिहासबारे जानकारी गराउन विश्वविद्यालय परिसरमै शालिकसहितको पार्क निर्माण आवश्यक रहेको समितिको भनाइ छ।
शहीद दशरथ चन्द नेपालमा जहानियाँ राणा शासनको अन्त्यका लागि जीवन बलिदान दिने चार महान् शहीदमध्ये एक हुन्। तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते काठमाडौंको शोभाभगवतीमा गोली हानी चन्दलाई मृत्युदण्ड दिएको थियो।
राणा शासनविरुद्धको आन्दोलनमा चन्दले पुर्याएको योगदानको सम्मानस्वरूप उनको नाममा गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरिएको हो। विश्वविद्यालय परिसरमै शालिक र पार्क निर्माण भएमा चन्दको योगदानलाई भावी पुस्तासम्म स्मरण गराउन महत्वपूर्ण भूमिका खेल्ने समितिको विश्वास छ।
पार्कलाई विद्यार्थी, अभिभावक तथा विश्वविद्यालयमा आउने आगन्तुकका लागि ऐतिहासिक, शैक्षिक र प्रेरणादायी स्थलका रूपमा विकास गर्न सकिने समितिको भनाइ छ। यसले विश्वविद्यालयको पहिचानसँगै सुदूरपश्चिमको ऐतिहासिक तथा राष्ट्रिय गौरवसँग जोडिएको एउटा महत्वपूर्ण स्थलका रूपमा समेत विकास हुने अपेक्षा गरिएको छ।