धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कांग्रेस सांसद प्रकाश देउवालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने सभामुख भीम भण्डारीको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सभामुखको निर्णयमा बदनियत देखिएको आरोप लगाउँदै भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन्।
प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेस सांसद देउवालाई पदमुक्त गरिएको भन्दै शाहले उक्त निर्णयले विश्वासको मत प्रभावित पार्ने उद्देश्य देखिएको दाबी गरे।
पत्रकारहरूसँग कुरा गर्दै शाहले भने, ‘आज विश्वासको मतका लागि सरकारले तयारी गरेको छ। सोही तयारीलाई सहज बनाउन सभामुखज्यूले प्रकाश देउवालाई एक्कासि पदमुक्त गर्नुभयो। सभामुखले पक्षपाती निर्णय गर्नुभयो। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
देउवा अनुपस्थित रहेको विषयमा आवश्यक सोधपुछसमेत नगरी सभामुखले पदमुक्त गरेको भन्दै शाहले निर्णय प्रक्रियामाथि प्रश्न उठाए। उनका अनुसार कुनै पनि प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित सदस्यसँग आवश्यक जानकारी र स्पष्टीकरण लिनुपर्ने हुन्छ।
शाहले यसअघि साविक नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएको र सर्वोच्च अदालतबाट पुनर्बहाली भएको उदाहरणसमेत प्रस्तुत गरे। देउवाको हकमा पनि कानुनी उपचारको बाटो खुला रहेको उनले बताए।
‘कुनै पनि प्रदेशसभा सदस्यलाई हटाउँदा एकपटक सोधपुछ गर्नुपर्छ। यसअघि पनि यस्तै प्रकारका घटना भएका छन्,’ शाहले भने।
सभामुखले दलीय आधारमा प्रदेशसभाको अंकगणितलाई हेरेर निर्णय गर्न नहुने कांग्रेस संसदीय दलका नेता शाहको भनाइ छ। सभामुखको पदमा बसेपछि दलगत आग्रहभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
‘सभामुखले दलीय मान्यतालाई आधार बनाएर दलको अंकगणित हेरी सभामुखको भूमिका निर्वाह गर्नुहुँदैन। यस्ता प्रकारका घटना दोहोरिनु हुँदैन,’ शाहले भने।
सभामुखको निष्पक्ष भूमिकाका लागि कांग्रेसले आवश्यक सहयोग गर्ने, तर पदको गरिमाविपरीत हुने गतिविधिको भने निरन्तर विरोध गर्ने शाहले स्पष्ट पारे।
प्रकाश देउवालाई पदमुक्त गर्ने निर्णयसँगै सुदूरपश्चिम प्रदेशसभाको राजनीतिक समीकरणमा समेत प्रभाव पर्न सक्ने देखिएको छ। यहीबीच मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिन लागेकाले देउवा पदमुक्त प्रकरण थप राजनीतिक चासोको विषय बनेको छ।