निराशाको चादर च्यातेर सुदूरपश्चिम बदल्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता

अत्तरिया  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारलाई सफल बनाएर संघीयता र प्रदेश संरचनाको औचित्य पुष्टि गर्ने बताएका छन्। बुधबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले प्रदेश संरचनामाथि उठाइएका प्रश्नको जवाफ सरकारको प्रभावकारी कार्यसम्पादनबाट दिनुपर्ने बताएका हुन्।

मुख्यमन्त्री भट्टले प्रदेश संरचना अनावश्यक रहेको भाष्य निर्माण भइरहेका बेला प्रदेश सरकारको सफलता संघीयता, लोकतान्त्रिक गणतन्त्र र जनअधिकारको पक्षमा महत्वपूर्ण जवाफ बन्ने दाबी गरे।

‘सरकार जसको बने पनि सरकारको कार्यसम्पादन सही भएमा मात्रै प्रदेश संरचनामाथि भइरहेका चलखेल र प्रहारलाई परास्त गर्न सकिन्छ,’ उनले भने, ‘हामी हाम्रो काम, संकल्प र शासनशैलीबाट संघीयतालाई प्रमाणित गर्नेछौँ।’

उनले प्रदेश सरकार सफल भएमात्रै जनयुद्ध, जनआन्दोलन तथा थारुहट–थारुवान आन्दोलनका मर्मलाई संस्थागत गर्न सकिने बताए। पछिल्लो पुस्ताले उठाएका आवाज र आन्दोलनको संवेदनशीलतालाई समेत सम्बोधन गर्दै संविधान र संघीय लोकतान्त्रिक व्यवस्थाप्रति जनविश्वास बढाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा गरिबी, बेरोजगारी, न्यून औद्योगिकीकरण, भौगोलिक विकटता तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या मुख्य चुनौतीका रूपमा रहेको बताए।

उनका अनुसार प्रदेशको मानव विकास सूचकांक राष्ट्रिय औसतभन्दा कमजोर छ। वार्षिक ७२ हजार रुपैयाँभन्दा कम आम्दानीमा आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका ठूलो जनसंख्यालाई लक्षित गर्दै सरकारले गरिबी न्यूनीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने उनले बताए।

‘हिजो भारत जाने हाम्रा दाजुभाइ अहिले मध्यपूर्वका देश जानुपरिरहेको छ। फरक त्यत्ति हो,’ उनले भने, ‘यो दारुणिक अवस्था फेर्नुपर्छ।’

सुदूरपश्चिमलाई विकासको दृष्टिले पछाडि परेको प्रदेशका रूपमा प्रस्तुत गर्ने भाष्य बदल्नुपर्नेमा जोड दिँदै उनले प्रदेशको प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, धार्मिक पर्यटन, ऐतिहासिक विरासत र जनशक्तिलाई उत्पादन र समृद्धिसँग जोड्ने बताए।

उनले आफ्नो सरकारको मुख्य प्राथमिकता सुशासन, दिगो विकास, उत्पादन, रोजगारी र जनताको जीवनमा प्रत्यक्ष परिवर्तन हुने घोषणा गरे। विकासलाई सडक, भवन र भौतिक पूर्वाधारमा मात्रै सीमित नगरी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, उद्यम र मानव विकासलाई समान प्राथमिकता दिने उनको भनाइ थियो।

पहाड, हिमाल र तराईबीच सन्तुलित र समानुपातिक विकास गर्नुपर्ने भन्दै भट्टले कुनै भूगोल, वर्ग, समुदाय वा नागरिक विकासको अवसरबाट पछाडि नपर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री भट्टले आफू सुदूरपश्चिमका नौवटै जिल्लाका जनताको दुःख, संघर्ष र समस्या नजिकबाट बुझेको दाबी गर्दै प्रदेशको समृद्धिका लागि आफूमा ‘हुटहुटी, सपना र स्पष्ट लक्ष्य’ रहेको बताए।

‘जनतामाथि जबर्जस्ती ओढाउन खोजिएको निराशाको चादर च्यात्न सकिन्छ। व्यवहारबाटै प्रदेशको औचित्य साबित गर्न सकिन्छ,’ उनले भने, ‘प्रतिगमन र व्यवस्थाविरोधी हरेक षड्यन्त्र चिर्न सकिन्छ भन्ने मेरो आशावाद हो।’

उनले प्रदेशको विकास र संघीयताको सुदृढीकरणका लागि आफूलाई सबै दल र प्रदेशसभा सदस्यको साथ आवश्यक रहेको बताए। कांग्रेस, कम्युनिस्ट वा अन्य राजनीतिक पहिचानभन्दा माथि उठेर आफूहरू ‘सुदूरपश्चिमेली’ भएको साझा पहिचानका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रा लागि हामी कांग्रेस, कम्युनिस्ट या अरूभन्दा पहिला सुदूरपश्चिमेली हौँ,’ उनले भने, ‘यही सुदूरपश्चिमको पहिचानलाई अब गर्व र अधिकारले सुसज्जित गर्न सबैको साथ चाहिएको छ।’

भट्टले सुदूरपश्चिमका धार्मिक तथा सांस्कृतिक सम्पदालाई विश्वमाझ चिनाउने, थारु, राना थारु, सौका, राजी, राउटे लगायत विभिन्न समुदायबीच साझा एकता र अपनत्व विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले सहिद, बेपत्ता परिवार, घाइते तथा अपांग योद्धाको सम्मान र पुनःस्थापनालाई सरकारको प्राथमिक दायित्वका रूपमा अघि बढाउने बताए।

‘सहिदका सपना, बेपत्ताका परिवारको आँसु र घाइतेका शरीरका घाउलाई यो सरकारले कहिल्यै बिर्सने छैन,’ उनले भने, ‘तिनको सम्मान र पुनःस्थापना हाम्रो पहिलो कर्तव्य हुनेछ।’

मुख्यमन्त्री भट्टले आफ्नो सरकार गठनमा भूमिका निर्वाह गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका नेता राजेन्द्र रावलसहित दुवै दलका नेताहरूलाई धन्यवाद दिए। निवर्तमान मुख्यमन्त्री कमल शाहलाई पनि सरकार गठनका लागि मार्गप्रशस्त गरेकोमा उनले धन्यवाद व्यक्त गरे।

उनले सत्तापक्ष र प्रतिपक्षको सीमाभन्दा माथि उठेर सुदूरपश्चिमको साझा हितका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए।

‘सुदूरपश्चिमको गौरव र इतिहासको विरासत पुनर्जागरण गर्ने यो महान् अभियानमा हामी सबै सत्तापक्ष हुनेछौँ,’ उनले भने।

प्रदेशसभाको दोस्रो कार्यकालको सम्भावित अन्तिम मुख्यमन्त्रीका रूपमा आफूले जिम्मेवारी सम्हालेको उल्लेख गर्दै भट्टले समय निकै कम रहेको बताए। जनअपेक्षाअनुसार बजेट पुनर्लेखन, पारित र प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

विश्वासको मत माग्दै सम्बोधनको अन्त्यमा उनले कवि भूपी शेरचनको ‘वीर र बुद्धु’को प्रसंग जोड्दै सुदूरपश्चिमेलीहरूलाई निराशा र विभाजनबाट माथि उठेर एकताका साथ अघि बढ्न आह्वान गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.