सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार निर्णायक चरणमा, १२ आकांक्षीमध्ये तीन मन्त्री छानिँदै

धनगढी । लामो समयदेखि चर्चामा रहेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार निर्णायक चरणमा पुगेको छ। नेकपाको नेतृत्वमा रहेको प्रदेश सरकारले तीन मन्त्री र दुई राज्यमन्त्री थप्ने तयारी अघि बढाएसँगै मन्त्रीका लागि सिफारिस गरिएका १२ आकांक्षीमध्ये तीन जनाको नाम टुंगो लगाउन केन्द्रमा छलफल हुने भएको छ।

प्रदेशबाट मन्त्रीका लागि १२ जनाको नाम केन्द्रमा पठाइएको छ। तीन मन्त्रीका लागि आकांक्षीबीच सहमति जुट्न नसकेपछि अन्तिम निर्णयको जिम्मा केन्द्रलाई दिइएको नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले जानकारी दिए।

उनका अनुसार साबिक नेकपा माओवादी केन्द्रबाट सात, नागरिक उन्मुक्ति पार्टीबाट तीन र नेकपा एकीकृत समाजवादीबाट दुई जनाको नाम सिफारिस गरिएको छ।

माओवादीतर्फबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेल आकांक्षी छन्। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम केन्द्रमा पठाइएको छ।

केन्द्रले सिफारिस गरिएका नाममध्ये तीन जनाको टुंगो लगाएपछि उनीहरूलाई प्रदेशमा पठाइनेछ। त्यसपछि भौतिक पूर्वाधार विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र आन्तरिक मामिला मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ।

मुख्यमन्त्री खगराज भट्टले यसअघि नै मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने संकेत गरेका थिए। विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने प्रतिबद्धताअनुसार अहिले आवश्यक राजनीतिक तथा सांगठनिक गृहकार्य अन्तिम चरणमा पुगेको प्रदेश नेतृत्वको भनाइ छ।

यसअघि एमालेको तर्फबाट आर्थिक मामिला मन्त्रालयमा चक्र मल्ल, सामाजिक विकास मन्त्रालयमा सन्तोषी थापा शर्मा तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दमन भण्डारी नियुक्त भइसकेका छन्। आर्थिक मामिला राज्यमन्त्रीमा जानकी बम ऐरलाई जिम्मेवारी दिइएको छ।

अब नेकपाबाट तीन मन्त्री र दुई राज्यमन्त्री थपिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ। केन्द्रबाट नाम प्राप्त हुनासाथ नियुक्ति प्रक्रिया अघि बढाउने तयारी रहेको प्रदेश नेतृत्वले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.