बाजुरेली समाज धनगढीद्वारा सामाजिक विकास मन्त्री थापालाई स्वागत तथा बधाई

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापालाई बाजुरेली समाज धनगढीले स्वागत तथा बधाई दिएको छ । बाजुरामा जन्मिएकी थापा मन्त्री बनेको भन्दै समाजले शनिबार धनगढीमा एक कार्यक्रम आयोजना गरी स्वागत तथा बधाई दिएको हो ।

यद्यपि थापाको पछिल्लो कर्मथलो धनगढी रहँदै आएको छ । कार्यक्रममा बाजुरेली समाजका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरूले मन्त्री थापालाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा समाजका सल्लाहकार सदस्य गंगाराम पाध्यायले मन्त्री थापालाई विवादरहित ढंगले काम गर्न सुझाव दिए । उनले बाजुराबाट प्रदेश सरकारमा मन्त्री बनेकी थापाबाट समाजलाई अगाडि बढाउन आवश्यक सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

यस्तै, समाजका सल्लाहकार प्रमुख बजिरसिंह धामीले मन्त्री थापाको कार्यकाल सफलताको कामना गरे । सल्लाहकार सदस्य हिक्मत शाहले मन्त्री थापा परिपक्व व्यक्तित्व भएको उल्लेख गर्दै उनको कार्यकालमा समाज र बाजुराको हितमा काम हुने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा बाजुरामा जन्मिएकी थापा प्रदेश सरकारको मन्त्री बनेकोमा सहभागीहरूले खुशी व्यक्त गरेका थिए । यसैबीच, बाजुरेली समाज धनगढीले धनगढी उपमहानगरपालिका–१ शिवनगरमा निर्माणाधीन भुवा संस्कृति संग्रहालयको अधुरो भवन निर्माण पूरा गर्न प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग मन्त्री थापासमक्ष राखेको छ ।

भुवा संस्कृति संरक्षणसँग जोडिएको संग्रहालयको भवन अधुरो रहेकाले त्यसलाई पूर्णता दिन आवश्यक बजेट छुट्याउन समाजले माग गरेको हो । समाजका अध्यक्ष भरत केसीले भुवा संस्कृति संग्रहालयका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्रीसमक्ष माग पत्र पेश गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले आफूले मन्त्री पदमा रहँदासम्म जानाजान कुनै पनि प्रकारको गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले समाजका लागि यसअघि पनि आफूले काम गरेको र आगामी दिनमा पनि समाजको हितमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

मन्त्री थापाले बाजुरेली समाज सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै समाजका साझा समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताइन् । समाजले राखेका माग आफूहरूको पनि साझा विषय भएको बताउँदै मन्त्री थापाले अहिले बजेटका विषयमा केही जटिलता रहे पनि माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले भनिन्, “यहाँहरूले राख्नुभएको समस्या मेरो लागि पनि साझा विषय हो । अहिले बजेट केही उल्झनमा रहेको छ । कहाँ र कसरी राख्ने भन्ने विषयमा आवश्यक पहल गर्छु ।”

मन्त्री थापाले बाजुरेली समाजसँग आफू सधैं साथमा रहने बताउँदै समाजले उठाएका जायज माग सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव हर्कबहादुर ओलीले गरेका थिए । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष भरत केसीले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.