सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना

धनगढी : कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि भदौ २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोहीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। कार्यालय प्रमुख साहले भने, ‘आज दिउँसो हिमाली क्षेत्रमा थोरै, पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ।’

यस्तै मङ्गलवार वर्षाको दायरा केही घट्ने देखिए पनि मौसम पूर्णरूपमा नखुल्ने अनुमान गरिएको छ। मङ्गलवार हिमाली तथा पहाडी क्षेत्रका थोरैदेखि धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मङ्गलवार राति भने तीनै भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.