फाउन्डेसन सचिव चक्रजित रावल द्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चौमाला, २४ भदौ : जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व सँग जोड्ने सकारात्मक अभ्यासको सुरुवात गर्दै युवा समाजसेवी हेमा श्री फाउन्डेसन नेपालका सचिव चक्रजित रावलले आफ्नो जन्मदिनको अवसरमा ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

गौरीगंगा नगरपालिका–३, भोजपुर, कैलाली स्थित श्री नरेन्द्र शाह स्मृति प्राथमिक विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीलाई रावलले प्रति विद्यार्थी तीन थान कापी, पेन्सिल र मेटर वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष मनिराज जोशी प्रमुख अतिथि तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी ‘बाजे’ विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा शिव सोरानी सामुदायिक वनका अध्यक्ष पदम रोकाया, युवा समाजसेवी जनक मल्ल, उमेश जोशी, वीरेन्द्र सिंह, तुलबहादुर साउँद लगायत शिक्षक–शिक्षिका,विद्यार्थी तथा स्थानीयको उपस्थिति थियो ।

प्रमुख अतिथि वडाध्यक्ष मनिराज जोशीले जन्मदिनको अवसरमा आफ्नो वडामा यस किसिमको सामाजिक तथा शैक्षिक सहयोग गर्ने युवाका रूपमा चक्रजित रावलको प्रशंसा गर्दै उनको पहल अनुकरणीय रहेको बताए । उनले जन्मदिनमा हुने अनावश्यक र भड्किलो खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्न अन्य युवाहरूलाई समेत आग्रह गरे ।

कार्यक्रममा फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी ‘बाजे’ले जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने संस्कारले युवामा समाजप्रतिको उत्तरदायित्व बढाउने बताए । उनले रावलको पहलबाट प्रेरणा लिएर अन्य युवाहरूले पनि आफ्नो जन्मदिनलाई रचनात्मक र सेवामूलक कार्यसँग जोड्नुपर्नेमा जोड दिए ।

आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै चक्रजित रावलले आफू सानैदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको बताए । समाजका लागि आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्ने उद्देश्यअनुरूप जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको उनले बताए ।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक प्रताप सिंहले गरेका थिए । ३५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्दै मनाइएको रावलको जन्मदिनले व्यक्तिगत खुसीलाई सामाजिक सेवामा रूपान्तरण गर्ने प्रेरणादायी सन्देश दिएको छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.