आकाश कार्की
अत्तरिया : गोदावरी नगरपालिका वडा नं १ अनामनगरको भित्रि टोल देखि चैतन्यपुर जानेपक्की पुल नजिक जोड्ने सडक निर्माणमा मापदण्ड पालना नभएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयको करिब ६८ लाख रुपैयाँको बजेटमा निर्माणाधीन नाला सहितको सडकमा नाला निर्माणको गुणस्तरलाई लिएर स्थानीयले प्रश्न उठाएका हुन् ।
आयोजना अन्तर्गत करिब १ सय ९० मिटर नाला र २ सय ५० मिटर कालोपत्रे सडक निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का अछामको कठाल निर्माण सेवा प्रा.लि. ले पाएको हो ।
पहिलो ठेक्का सम्झौताको म्याद समाप्त भएपछि निर्माण कार्य सम्पन्न हुन नसकेकाले दोस्रोपटक म्याद थप गरिएको छ । थप गरिएको सम्झौता अनुसार पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न गरी सक्नुपर्ने समयावधि तोकिएको छ ।
यस्तै स्थानीयवासीका अनुसार निर्माण भइरहेको नालामा ढलान पातलो गरिएको छ भने नालामा आउने पानीसमेत उचित रूपमा निकास हुने अवस्था देखिएको छैन । नालाको संरचना एकातर्फ अग्लो र अर्कोतर्फ होचो बनाइएको भन्दै उनीहरूले पानीको सहज प्रवाहमा समस्या आउन सक्ने बताएका छन् । स्थानीय राज साउँदका अनुसार नालामा आउने पानी एउटै स्थानमा जम्मा हुने अवस्था देखिएको छ । नालीको ढलान र पानीको निकास व्यवस्थित नभए वर्षायाममा सडक तथा आसपासका क्षेत्रमा पानी जम्ने समस्या हुन सक्ने स्थानीयको भनाइ छ ।
स्थानीयको गुनासो बारे निर्माण कम्पनीका प्रतिनीधि निरज साउँदले भने निर्माण कार्य अझै पूर्ण रूपमा सम्पन्न नभएकाले अहिले नै अन्तिम निष्कर्ष निकाल्न नहुने दाबी गरेका छन् । उनका अनुसार वैशाख देखि निर्माण कार्य सुरु गरिए पनि स्थानीयसँग पटक–पटक समन्वय गर्दा समेत उत्पन्न आपसी विवादका कारण काममा ढिलाइ भएको उनको तर्क छ ।
प्रतिनीधि साउँदले निर्माण कार्यमा केही भाग अझै बाँकी रहेको स्वीकार गर्दै मापदण्ड अनुसार नै निर्माण सम्पन्न गर्ने दाबी गरेका छन् । उनका अनुसार पश्चिमतर्फ रहेको कल्भर्टको स्थानबाट पानी बग्ने गरी एउटा निकास बनाइनेछ भने पूर्वतर्फ नालालाई नदीसम्म जोडेर पानीको निकास व्यवस्थापन गरिने बताए । निर्माण सम्पन्न भएपछि आवश्यक देखिएका स्थानमा सुधारसमेत गरिने दाबी गरेका छन् । निर्माण कम्पनीका अनुसार काम पूर्ण रूपमा सम्पन्न भएको छैन । सुधार गर्नुपर्ने विषय देखिएमा हामी सुधार गर्छौं र मापदण्डअनुसार निर्माण सम्पन्न गर्छौं भनेर दाबी गरेका छन् ।