अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघले आफ्नो प्रशासनिक भवनको माथिल्लो तला निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग करिब ४० लाख रुपैयाँ बजेट माग गरेको छ।
संघका पदाधिकारीहरूले शुक्रबार मुख्यमन्त्री खगराज भट्ट र भौतिक विकास राज्यमन्त्री जानकीदेवी कुँवरसँग भेट गरी भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गरेका हुन्।
संघका अध्यक्ष कमल कडायतका अनुसार भवनको तल्लो तला निर्माण भइसके पनि प्रशासनिक कार्यका लागि थप स्थान आवश्यक रहेकाले माथिल्लो तला निर्माण गर्न लागिएको हो।
करिब ५०० जना अट्ने सभाहलसहितको भवन निर्माण भए पनि आर्थिक अभावका कारण माथिल्लो तलाको काम सुरु हुन सकेको छैन।
संघले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाउँदै प्राविधिक अनुमानअनुसार आवश्यक बजेट उपलब्ध गराइदिन आग्रह गरेको जनाएको छ।