रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रञ्जिता श्रेष्ठ

अत्तरिया  : नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेकी छन्। रञ्जिताले बुधबार सामाजिक सञ्जालमा ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिन्न, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ । तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन ।’ भन्दै स्टाटस लेखेपछि उनी डिभोर्सको तयारीमा रहेको चर्चा भएको थियो। तर, उनले डिभोर्सका लागि नभई बहुविवाहको मुद्दा दर्ता गर्न लागेको बताएकी छन्।

रञ्जिताले आफू लामो समयदेखि मौन बसे पनि पछिल्लो समय आफूलाई थप पीडा दिने काम भएको भन्दै रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको बताएकी छन्।

रञ्जिता रेशमकी पहिलो पत्नी हुन्। उनीहरूका एक छोरा छन्। रेशम र रञ्जिताबीच पछिल्लो समय राजनीतिक तथा पारिवारिक सम्बन्धमा दूरी बढेको छ। उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन्। रञ्जिता काठमाडौंमा छोरासँग बस्दै आएकी छन् भने रेशम बर्दियामा आशा चौधरी र छोरीसँग बस्दै आएको जनाइएको छछ।

रेशम र आशा चौधरीबीच विवाह भएको दाबी सार्वजनिक रूपमा हुँदै आए पनि उनीहरूको विवाह दर्ता भएको छैन। रञ्जितासँग कानुनी रूपमा सम्बन्ध कायम रहेकै अवस्थामा दोस्रो विवाह गरेको पुष्टि भएमा बहुविवाहसम्बन्धी कानुनी प्रश्न उठ्न सक्छ। आशा मोडल तथा थारु चलचित्रकी कलाकार हुन्। रेशमले थारु चलचित्र निर्माण तथा निर्देशन गर्ने क्रममा आशासँग नजिकिएको बताइएको छ।

पछिल्लो समय रेशम र आशाले सामाजिक सञ्जालमा सँगै रहेका भिडियोहरू सार्वजनिक गर्दै आएका छन्। हालै आशाले एउटा भिडियोमा आफूलाई रेशमको ‘एक्लो बुढी’ भनेर उल्लेख गरेकी थिइन्।

रेशम र आशाले विवाह दर्ताका लागि प्रयास गरिरहेको सूचना पाएपछि रञ्जिताले कानुनी बाटो रोज्ने तयारी गरेको बताइएको छ। यद्यपि, बहुविवाहको मुद्दा दर्ता भएपछि मात्रै यस विषयमा कानुनी प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.