सुदूरपश्चिममा सडक दुर्घटनाको जोखिम उच्च, एक महिनामै २१६ दुर्घटना

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाको जोखिम उच्च देखिएको छ। पछिल्लो पहिनाको तथ्यांकअनुसार प्रदेशमा ठूला सवारी दुर्घटनाका साथै दैनिकजसो सामान्य दुर्घटनासमेत हुने गरेका छन्। दुर्घटनामा मानवीय क्षति बढ्दै गएपछि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चेकजाँच, सवारीको यान्त्रिक परीक्षण र जोखिमयुक्त क्षेत्र पहिचान गर्ने कामलाई तीव्रता दिएको जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२\८३ मा सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका १४ वटा ठूला सवारी दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बैतडी, बझाङ, कैलाली, कञ्चनपुर र डोटीमा भएका केही दुर्घटनामा सवारीसाधन सडकबाट सयौँ मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको थियो। बैतडीको पाटन नगरपालिका–८, साडीघाँटीमा जिप सडकबाट करिब २५० देखि ३०० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। त्यस्तै, बझाङमा बस करिब १५० मिटर तल खस्दा १३ जनाको मृत्यु र ३६ जना घाइते भएका थिए।

चालु आर्थिक वर्ष २०८३\८४ को भदौ महिनामा मात्रै प्रदेशका नौवटै जिल्लामा सामान्य तथा ठूला गरी २१६ वटा सवारी दुर्घटना भएका छन्। भदौ १ देखि ३० गतेसम्म भएका ती दुर्घटनामा घटनास्थलमै ९ जना र उपचारका क्रममा ३ जना गरी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ३५ जना गम्भीर र ३३० जना सामान्य घाइते भएका छन्।

दुर्घटनाको प्रमुख कारण पहिचान गरी न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण, नियमित चेकजाँच तथा दुर्घटना बढी हुने स्थानको पहिचान गर्ने काम अघि बढाएको छ। पहिचान भएका जोखिमयुक्त स्थानमा आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई पत्राचारसमेत गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा ट्राफिक लाइट र ब्ल्याक क्यामेरा जडान तथा दुर्घटना सम्भावित क्षेत्र सुधारसम्बन्धी प्रतिवेदनसमेत पठाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.