बाजुराका चेतन हत्या प्रकरण : ६ जनालाई जन्मकैद सजाय, १८ जनाले पाए सफाइ

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका–७ का नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा ६ जनालाई जन्मकैद सजाय तोकिएको छ । जिल्ला अदालत बाजुराले बुधवार मुद्धाको फैसला गर्दै हत्यामा संलग्न आरोपित ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

जन्मकैद सजाय पाउनेमा शेरबहादुर अयडी, सागर अयडी, लोकेश अयडी, खेम अयडी, जीवन अयडी र धनराज थापा छन् । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७८(१) को कसुरमा उपदफा (२) बमोजिम जन्मकैद हुने फैसला सुनाएको छ । साथैं हत्यामा दोषी देखिएका उनीहरुले पीडित पक्षलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति दिनपर्ने जिल्ला अदालत बाजुराले जनाएको छ ।

यस्तै, चेतनको हत्या प्रकरणमा १८ जनाले सफाइ पाएका छन् । जसमा पदमबहादुर अयडी, बिनोदबहादुर अयडी, रुपा चौधरी अयडी, नरेश अयडी, चक्रबहादुर अयडी, भुपाल अयडी, मदनबहादुर अयडी, निरज बहादुर अयडी, नर अयडी, उद्धवबहादुर अयडी, रत्नबहादुर अयडी, जुद्धबहादुर अयडी, अनिता रौले अयडी, रनसिंहबहादुर अयडी, मोहनबहादुर अयडी, नविन अयडी, इश्वरादेवी अयडी र धनादेवी अयडी छन् ।

२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौँमा चेतनलाई एउटा समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो । चेतनलाई सामुहिक कुटपीट गरी हत्या गरेको भनेर अदालतमा २४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा सुनुवाइ सकिएर अन्तिम फैसला आएको जनाएको छ ।

बुधबार र बिहीबार लगातार बहस भएको थियो । जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलका साथै वरिष्ठ अधिवक्ता राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए । यस्तै, प्रतिवादीहरुको तर्फबाट कविराज पण्डित, हर्क बहादुर खडायत र जगत बमले बहस गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.