धनगढी । धनगढीमा पैदल यात्रीलाई ठक्कर दिएपछि फरार भएका हाइस चालकलाई प्रहरीले सवारीसाधन सहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले दुर्घटनापछि फरार रहेका सु.प. प्र ०१००१ ज१ ५८० नम्बरको ईभी हाइसका चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–५ निवासी ४५ वर्षीय लोकेन्द्र पाण्डेयलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पाण्डेयलाई बिहिबार राति अत्तरियाबाट नियन्त्रणमा लिइएको हो । दुर्घटनामा संलग्न हाइस भने धनगढीको बोराडाँडीबाट प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका पाण्डेयलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
हाइसको ठक्करबाट धनगढी उपमहानगरपालिका–३, फाप्ला नजिकै पैदल हिँडिरहेका चटकपुर निवासी कालु रानाको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले राति ११ः१० बजे मृत घोषणा गरेका थिए ।
मृतक रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।