अत्तरिया : राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रमा योगदान पु¥याउने शिक्षक, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा खेलाडीलाई सम्मान गरेको छ ।
शुक्रबार अत्तरियामा ‘ज्ञान, विज्ञान, सीप, उद्यम, मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम नगर प्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख शारदा रोकाया, शिक्षाविद् डा. डम्बरबहादुर पाल, शिक्षा शाखा प्रमुख हरिश पन्त, सेनानी खिलबहादुर राना, वडा अध्यक्षहरू, पालिका प्रतिनिधि तथा नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाभित्र यस वर्ष अवकाश प्राप्त शिक्षकहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, शिक्षा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा शिक्षा सँगसँगै खेलकुद क्षेत्रमा जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पदक जित्न सफल खेलाडीलाई बधाईसहित सम्मान गरिएको थियो ।
नगरस्तरीय कक्षा ८ को परीक्षामा ४ जीपीए हासिल गर्ने १३ जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो । साथै, पालिकाभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट विषयगत रूपमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । उनीहरूको शैक्षिक योगदान र विद्यार्थीको सिकाइ उपलब्धिमा पु¥याएको भूमिकाको कदर गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा कक्षा ८ र १० मा सामुदायिक तथा संस्थागत विद्यालयमा डिजिटल शिक्षासम्बन्धी कार्यक्रमको ब्यानर अनावरण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो । यस वर्ष गोदावरी नगरपालिका क्षेत्रका ९ जना शिक्षक अवकाश प्राप्त भएका छन् भने एक जना शिक्षकको उपचारका क्रममा निधन भएको जनाइएको छ ।
कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्टले शिक्षा र स्वास्थ्यलाई नगरपालिकाको विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाइरहेको बताए । उनले गुणस्तरीय शिक्षा, डिजिटल प्रविधिको प्रयोग, विद्यार्थीको प्रतिभा विकास तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै गोदावरी नगरपालिकालाई शिक्षा र स्वास्थ्य क्षेत्रमा थप सक्षम, व्यवस्थित र नमुना बनाउने उद्देश्यका साथ पालिका निरन्तर लागिपरेको बताए ।