धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै नेपाली, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा राज्यका विभिन्न तह र तप्काबाट आ–आफ्नो क्षेत्रबाट प्रतिबद्ध भएर लाग्नुपर्ने बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै आर्थिक समानता र समृद्धिमार्फत सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका हुन्।
उनले संविधानसभामार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै संविधान दिवस मनाइरहेको उल्लेख गरेका छन्।
प्रदेश प्रमुख मियाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।
शुभकामना सन्देशमा उनले संविधानले परिकल्पना गरेको समावेशी, समानतामूलक र समृद्ध समाज निर्माणका लागि राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा राज्यका विभिन्न तह र तप्काले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय लक्ष्य प्राप्तिका लागि समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, राजनीतिक दलहरू, नागरिक समाज, निजी क्षेत्र एवं राज्यका विभिन्न तह र तप्काले आ–आफ्नो क्षेत्रबाट अझै प्रतिबद्ध भई लाग्नुपर्नेछ भन्ने मलाई विश्वास छ,झ प्रदेश प्रमुख मियाँले सन्देशमा भनेका छन्।
प्रदेश प्रमुख मियाँले संविधान दिवसले सुदूरपश्चिम प्रदेशमा पनि दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को हार्दिक शुभकामना व्यक्त गरेका छन्।