कोहलपुरबाट कैलाली आउँदै गरेको माइक्रोमा गुडिरहेकै अवस्थामा आगलागी

धनगढी । कोहलपुरबाट कैलालीतर्फ आउँदै गरेको माइक्रोबसमा बर्दियामा गुडिरहेको अवस्थामा अचानक आगलागी भएको छ। महेन्द्र राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोक नजिक माइक्रोमा आगलागी भएको हो।

प्रहरीका अनुसार सु.प.प्र. ०१–००२ ज ४३३ नम्बरको माइक्रोबस राजमार्गमा गुडिरहेको अवस्थामा आगो लागेको थियो। आगलागीपछि माइक्रोमा सवार चालक र सहचालकले तत्काल बाहिर निस्किएर ज्यान जोगाएका थिए।

माइक्रोमा त्यसबेला चालक र सहचालक मात्रै रहेको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभए पनि माइक्रोमा रहेको केही नगद रकम जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

आगलागीको कारण भने तत्काल खुल्न सकेको छैन। माइक्रोको कुन भागबाट आगो सुरु भयो र आगलागीबाट भएको भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि राजमार्गमा केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो। प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.