अत्तरिया : नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिका सचिव तथा युवा पुस्तामाझ परिचित नेता हेमन्त राज जोशी ‘हेमन्त बाजे’ वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
गौरीगंगा नगरपालिका–६, बनबेहडामा सम्पन्न वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएसँगै जोशीको राजनीतिक यात्रा अब नेपाली कांग्रेस गौरीगंगा नगर सभापतिको नेतृत्वतर्फ अघि बढेको हो । उनले आगामी नगर अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।
२०६० सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका जोशीले नेपाली कांग्रेसका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन् । वडा कार्यसमिति सदस्य हुँदै वडा सचिव, नगर कार्यसमिति सदस्य, सहसचिव र हाल दोस्रो पटक नगर सचिवको जिम्मेवारीमा रहेका उनी लामो समयदेखि पार्टी संगठन निर्माण तथा कार्यकर्ता परिचालनमा सक्रिय रहँदै आएका छन् ।
पार्टी संगठनमा निरन्तर सक्रिय रहेका जोशीले आफूले प्राप्त गरेका जिम्मेवारीलाई संगठन र कार्यकर्तासँगको सहकार्यका रूपमा अघि बढाउँदै आएको बताउँदै आएका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि उनले आफूलाई विश्वास गरी निर्वाचित गराउने सम्पूर्ण प्रतिनिधि तथा कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन् ।
क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीलाई आफू र संगठनप्रति कार्यकर्ताले गरेको विश्वासका रूपमा लिएको बताउँदै जोशीले आगामी दिनमा नेपाली कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र चलायमान बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । नगर सभापतिको उम्मेदवारीका विषयमा जोशीले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । “सबैलाई मिलाएर, सबैको भावना समेटेर संगठनलाई चलायमान बनाउँदै अघि बढ्ने मेरो प्राथमिकता हुनेछ,” उनले भने ।
उनका अनुसार गौरीगंगा कांग्रेसलाई थप व्यवस्थित र सक्रिय बनाउने, कार्यकर्ताको भूमिकालाई बलियो बनाउने, वडा तहसम्म संगठनलाई प्रभावकारी बनाउने तथा युवा पुस्तालाई पार्टीको मूलधारमा थप सक्रिय रूपमा जोड्ने विषय आफ्नो प्राथमिकतामा रहनेछन् ।
लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय रहँदै आएका जोशी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएसँगै नगर नेतृत्वका लागि आफ्नो दाबीलाई औपचारिक रूपमा अघि बढाउने तयारीमा छन् । आगामी नगर अधिवेशनमा उनको उम्मेदवारीसँगै गौरीगंगा कांग्रेसको नगर नेतृत्व चयनको विषय थप चासोको विषय बनेको छ ।