धनगढी : नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनले तीव्रता पाएको छ। असोज ३ गतेदेखि सुरु भएको अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
ताप्लेजुङदेखि कञ्चनपुरसम्मका अधिकांश जिल्लामा वडा अधिवेशन तथा निर्वाचन सम्पन्न भएका छन्। निर्वाचन समितिका अनुसार अझै रसुवा, नुवाकोट र धादिङका साथै सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ र परासी क्षेत्र नम्बर २ लगायत केही स्थानमा अधिवेशन हुन बाँकी छ।
समितिका अनुसार दोस्रो दिन सम्पन्न हुन नसकेका वडामा असोज ५ गते सोमबार पनि अधिवेशन तथा निर्वाचन प्रक्रिया जारी रहनेछ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशनपछि असोज ७ गते जिल्ला तथा असोज १० गते प्रदेश अधिवेशन हुनेछ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने तयारी छ।
वडा तहबाट नेतृत्व चयन हुँदै महाधिवेशनको प्रक्रिया अघि बढेसँगै कांग्रेसभित्र संगठनात्मक गतिविधि र आन्तरिक निर्वाचनको चहलपहलसमेत बढेको छ।