आजदेखि सोह्रश्राद्ध सुरु

अत्तरिया  : हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहने यस अवधिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा रहेको छ।

सोह्रवटा तिथिमा पितृप्रति श्रद्धापूर्वक पितृकार्य गरिने भएकाले यसलाई नेपाली समाजमा ‘सोह्रश्राद्ध’ भनिन्छ। हिन्दू मान्यताअनुसार बडादशैं र तिहारजस्ता प्रमुख चाडपर्वअघि पितृको स्मरण र सम्मान गर्ने परम्पराले सन्ततिलाई पितृप्रतिको दायित्वबोध गराउने विश्वास गरिन्छ।

प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औंसी र पूर्णिमासहितका तिथिमा श्राद्ध तथा तर्पण गर्ने शास्त्रीय विधान रहेको छ। दिवङ्गत व्यक्तिको मृत्यु भएको तिथि थाहा भएकाले सोही तिथिमा श्राद्ध गरिन्छ। तिथि थाहा नभएकाले पञ्चमी, अष्टमी, द्वादशी वा औंसीमा श्राद्ध गर्ने चलनसमेत रहेको छ।

श्राद्धका क्रममा पितृको नाममा पवित्र जल अर्पण गर्ने कार्यलाई तर्पण भनिन्छ। कुश, तिल, जौ, फूल, चन्दनलगायत सामग्री प्रयोग गरी तर्पण गरिन्छ भने पिण्डदान तथा भोजन अर्पण गर्ने परम्परा पनि छ। शास्त्रीय विधानअनुसार वार्षिक एकोदिष्ट श्राद्ध मध्याह्न, पार्वण श्राद्ध अपराह्न र आभ्युदयिक श्राद्ध प्रातःकालमा गर्ने उल्लेख पाइन्छ।

सोह्रश्राद्ध सुरु भएसँगै पशुपतिनाथलगायत विभिन्न तीर्थस्थलमा दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्न श्रद्धालुको उपस्थिति बढ्ने गर्दछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.