अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८ खुटिया पुलमा हाइसले स्कारपियोलाई पछाडिबाट ठक्कर दिँदा तिन जना घाइते भएका छन्। शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ५५५९ नम्बरको स्कारपियोलाई सोही दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१–००१ ज १७०४ नम्बरको ईभी हाइसले पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा स्कारपियोमा सवार गौरीगंगा नगरपालिका–१ चौमालाकी २२ वर्षीया दमयन्ती रानाको पेटमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। स्कारपियोका चालक गौरीगंगा–१ चौमालाका २८ वर्षीय विकास चौधरीका छोरीहरू ९ वर्षीया युनिसा चौधरी र ६ वर्षीया आयना चौधरीलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको छ। हायस चालक गौरीगंगा नगरपालिका–५ का २८ वर्षीय मनोहर सिंह र स्कारपियो चालक विकास चौधरीसहित दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी बिट स्याउलेबाट प्रहरी सहायक निरीक्षक कालीप्रसाद जोशीको कमान्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थल प्रहरी बिट स्याउलेबाट करिब एक किलोमिटर पूर्वमा पर्छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।