अत्तरिया:- कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अत्तरिया सेवा केन्द्रको २८औँ इकाईगत वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाका सञ्चालक समिति अध्यक्ष नारा जोशीको अध्यक्षतामा शुक्रबार अत्तरियामा इकाईगत वार्षिक साधारण सभा सम्पन्न भएको हो।
सभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोशीले स्थापना कालदेखि नै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा सुधार ल्याउँदै समयसापेक्ष रूपमा संस्थालाई स्वस्थ, सबल र गतिशील बनाउने उद्देश्यका साथ संस्था अघि बढिरहेको जानकारी दिए।
प्रतिवेदन अनुसार २०५६ सालमा स्थापना भएको संस्थाले २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको छ। संस्थामा हाल २६ हजार ५ सय जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी हाल २३ करोड १८ लाख ५६ हजार ४ सय रुपैयाँ पुगेको जनाइएको छ।
यस्तै आर्थिक वर्ष २०८२/०८३ मा संस्थाले गरेको विभिन्न कारोबारबाट ५ करोड २ लाख ६२ हजार ५ सय ८६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ।
संस्थाले कर्जा तर्फ १ अर्ब ६८ करोड ४४ लाख ५४ हजार ९ सय ४३ रुपैयाँ लगानी गरेको छ भने निक्षेपतर्फ २ अर्ब २४ करोड ७९ लाख ५७ हजार ८ सय २४ रुपैयाँ बचत संकलन गरेको जनाएको छ।
सभाको अवसरमा अत्तरिया सेवा केन्द्रमा आबद्ध चार जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यस्तै, १० जना उत्कृष्ट उद्यमी सदस्यलाई सम्मान गर्नुका साथै पाँच जना सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिएको शाखा प्रमुख सुरेन्द्र ऐरले जानकारी दिए। २०७७ सालमा अत्तरिया सेवा केन्द्रका रूपमा सञ्चालनमा आएको उक्त सेवा केन्द्रमा हाल २हजार १ शेयर सदस्य आबद्ध रहेको जनाइएको छ।
सदस्यहरूलाई आत्मनिर्भर बनाउने तथा रोजगारीमूलक सीप प्रदान गर्ने उद्देश्यले संस्थाले प्रत्येक वर्ष कृषि, व्यवसाय तथा सीपमूलक क्षेत्रमा विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको शाखा प्रमुख सुरेन्द्र ऐरले जानकारी दिए।
संस्थाका सहायक प्रबन्धक प्रकाशराज भट्टले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सञ्चालक सुनिलदत्त ओझाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।