धनगढी : कैलालीमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको ३ लाख ५३ हजार रुपैयाँ बराबरको लत्ताकपडा धनगढीबाट बरामद भएपछि सीमा निगरानीमाथि प्रश्न उठेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ की रञ्जना रानाबाट १५६ पिस सुट–पिस र ५ पिस चुन्नीलगायतका कपडा बरामद गरिएको हो ।
भारतबाट भन्सार छली गरी ल्याइएको उक्त सामानसहित रानालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।
तर, यो घटना बरामद भएको सामानमा मात्रै सीमित छैन । भारतसँग जोडिएको सीमा क्षेत्रबाट १५६ पिस सुट–पिससहित ठूलो परिमाणको सामान नेपाल प्रवेश गरी धनगढीसम्म आइपुग्दा सीमा क्षेत्रमा भएको सुरक्षा निगरानीमाथि स्वाभाविक प्रश्न उठेको छ ।
सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बल, नेपाललाई तोकिएको अवस्थामा यति ठूलो परिमाणको सामान सीमा पार गर्दा नियन्त्रणमा किन परेन भन्ने प्रश्न महत्वपूर्ण बनेको छ । सामान सीमा क्षेत्रबाट प्रवेश गरी धनगढी पुगेपछि मात्रै नेपाल प्रहरीले बरामद गर्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा समेत तथ्यगत अनुसन्धान आवश्यक देखिन्छ ।
कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान नेपाल प्रहरीले धनगढी तथा जिल्लाका विभिन्न स्थानबाट पटक–पटक बरामद गर्दै आएको छ । यसले सीमा क्षेत्रबाट सामान प्रवेश गर्ने, विभिन्न माध्यमबाट गन्तव्यसम्म पु¥याइने र त्यसपछि मात्रै बरामद हुने अवस्थाबारे थप अनुसन्धान आवश्यक देखाएको छ ।
यद्यपि, पछिल्लो घटनामा सीमा सुरक्षामा खटिएको कुनै सुरक्षा निकाय वा कर्मचारीको संलग्नता रहेको निष्कर्ष अनुसन्धानबाट प्रमाणित नभएसम्म निकाल्न मिल्दैन। तर सामान कुन नाका र बाटो हुँदै नेपाल प्रवेश ग¥यो, कसले ओसारपसार ग-यो र धनगढीसम्म कसरी पु¥याइयो भन्ने विषय अनुसन्धानको महत्वपूर्ण पाटो बन्न सक्छ ।
त्यसैले अब अनुसन्धान बरामद सामान र पक्राउ परेका व्यक्तिमा मात्रै सीमित नभई सामान प्रवेश गरेको सम्भावित नाका, ओसारपसारको रुट, संलग्न व्यक्तिहरू तथा सीमा क्षेत्रमा भएको सुरक्षा निगरानीसम्म पुग्नुपर्ने देखिन्छ ।