अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

अत्तरिया :- कैलालीको अत्तरियामा ‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ भन्ने नाराका साथ स्वास्थ्य युवा महोत्सव–२०८३ आयोजना हुने भएको छ।

समृद्ध सुदूरपश्चिम अभियान, सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स, कैलाली जिल्ला चेम्बर अफ कमर्स, गोदावरी नगर चेम्बर अफ कमर्स र सुदूरपश्चिम युवा चेम्बरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो।

आयोजकले बिहीबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै महोत्सव आगामी कात्तिक १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ। ६ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्वास्थ्य सचेतना, विशेषज्ञ चिकित्सक सँग अन्तरक्रिया, स्वास्थ्य परीक्षण तथा परामर्श लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

सम्मेनलनमा सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले विशेषगरी १२ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुषमा देखिने हर्मोन सम्बन्धी समस्या लगायत स्वास्थ्यका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताए। उनका अनुसार महोत्सवमा उमेर समूहको सीमाभन्दा बाहिरका नागरिकले समेत स्वास्थ्य परीक्षण तथा परामर्शको लाभ लिन सक्नेछन्।

महोत्सवको सुरुवाती चरणमा आँखा तथा दन्त स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ। त्यससँगै किशोर–किशोरी तथा युवासँग मानसिक स्वास्थ्य, पोषण, जीवनशैली तथा अन्य स्वास्थ्यसम्बन्धी विषयमा प्रत्यक्ष अन्तरक्रिया गरिनेछ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा मुक्त कमैया शिविर लगायतका समुदायलाई समेत लक्षित गरी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

महोत्सवमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक, प्रोफेसर तथा स्वास्थ्य संस्थाको सहभागितामा स्वास्थ्यसम्बन्धी सवाल–जवाफ तथा अन्तरक्रिया गरिने छ। सहभागीले चिकित्सकसँग प्रत्यक्ष रूपमा आफ्ना स्वास्थ्य सम्बन्धी जिज्ञासा राख्न पाउने आयोजकले जनाएको छ।

आयोजकका अनुसार महोत्सव स्वास्थ्य परीक्षणमा मात्र सीमित नभई समुदाय, विद्यार्थी, युवा, चिकित्सक, अस्पताल तथा स्वास्थ्य संस्थालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। विभिन्न रोगका लक्षण, कारण, रोकथाम तथा उपचारका विषयमा वैज्ञानिक र व्यवहारिक जानकारी प्रदान गर्नुका साथै स्वास्थ्यसम्बन्धी भ्रम, अन्धविश्वास तथा गलत सूचनालाई चिकित्सकीय तथ्यका आधारमा स्पष्ट गरिनेछ।

महोत्सवको पहिलो चरणमा स्वास्थ्यसम्बन्धी सचेतना तथा विशेषज्ञसँग अन्तरक्रिया गरिनेछ भने त्यसपछि स्वास्थ्य परीक्षण तथा परामर्श सञ्चालन गरिने आयोजकले जनाएको छ। स्वास्थ्य परीक्षणका क्रममा प्रारम्भिक रोग पहिचान, विशेषज्ञ चिकित्सकीय परामर्श, स्वास्थ्य तथा पोषणसम्बन्धी सुझाव, आवश्यक थप परीक्षणको सिफारिस तथा उपचारका लागि सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था गरिनेछ।

महोत्सवबाट थप उपचार आवश्यक देखिएका बिरामीलाई सम्बन्धित अस्पताल तथा चिकित्सकसँगको सहकार्यमा सम्भव भएसम्म विशेष छुट तथा सहुलियतमा उपचारका लागि सिफारिस गर्ने प्रयास गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा कक्षा ७ देखि माथिका विद्यार्थी, विद्यालय तथा कलेजका विद्यार्थी, युवा, १२ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुष, बिरामी तथा समुदायका नागरिक, शिक्षक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ। आयोजकले ६ दिनमा करिब १८ हजार युवा तथा समुदायका नागरिकलाई सहभागी गराउने लक्ष्य राखेको छ।

‘डाक्टरसँग कुरा गरौँ, स्वास्थ्यबारे बुझौँ; समयमै जाँच गरौँ, रोगबाट बचौँ’ भन्ने अवधारणासहित आयोजना हुने महोत्सवले युवामा स्वास्थ्यसम्बन्धी सही ज्ञान, नियमित स्वास्थ्य परीक्षणको बानी तथा स्वस्थ जीवनशैली विकासमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

महोत्सवलाई सफल बनाउन प्रदेश तथा स्थानीय सरकार, सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज, विशेषज्ञ चिकित्सक तथा प्रोफेसर, विद्यालय तथा कलेज, स्वास्थ्यसम्बन्धी संघसंस्था, व्यवसायिक तथा सामाजिक संस्था, सञ्चारमाध्यम, निजी क्षेत्र तथा प्रायोजकसँग सहकार्य गरिने जनाइएको छ।

स्वास्थ्यसँगै युवा, व्यापार, व्यवसाय, उत्पादन तथा आर्थिक विकासलाई जोड्ने उद्देश्यसमेत महोत्सवले राखेको आयोजकले जनाएको छ। अस्पताल, प्रयोगशाला, फार्मेसी, स्वास्थ्य प्रविधि, फिटनेस, पोषण लगायत स्वास्थ्यसम्बन्धी व्यवसायलाई

समुदायसँग जोड्नुका साथै युवालाई उद्यमशीलता, स्टार्टअप, स्वरोजगार तथा व्यवसायमा जोड्ने वातावरण निर्माणमा समेत कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.