धनगढी : चाडपर्वको मौका छोपेर आन्तरिक उडानमा अस्वाभाविक भाडा बढाइएको गुनासो आएपछि वायुसेवा कम्पनीहरू स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि नियामक निकाय र वायुसेवा सञ्चालकबीच यस्तो सहमति जुटेको हो । प्रधानमन्त्रीको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको थियो।
उक्त छलफलमा क्यान र वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच सरकारले तोकेको स्वीकृत भाडादरभन्दा सस्तो मूल्यमै टिकट बिक्री वितरण गर्ने निर्णय भएको छ।
सहमति अनुसार कम्पनीहरूले छुटसहितको भाडादरबारे आफ्ना आधिकारिक बिक्री वितरण प्लेटफर्ममार्फत सूचना प्रकाशन गर्नुपर्नेछ। यसअघि २०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गरिएको थियो।
सोही पुरानो दरको उच्चतम सीमालाई आधार बनाएर कम्पनीहरूले चाडपर्वमा महँगो भाडा असुलेको गुनासो बढेपछि सरकारले हस्तक्षेप गरेको हो।