महाकालीको झोलुंगे पुल पुनर्निर्माण र मर्मतसम्भार गर्न रमेश लेखकको आग्रह

कञ्चनपुर  : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले शुक्रबार बिहान कञ्चनपुरस्थित महाकाली नदीमातथिको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुंगे पुलको अनुगमन गरेका छन्।

यस क्रममा उनले पुल भत्किएकामा आफूलाई अत्यन्त दुःख लागेको बताए। उनले पुलको यथाशीघ्र पुनर्निर्माण तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरे।

लेखकले यो पुल दोधारा चाँदनी वा कञ्चनपुरको मात्र नभई सिंगो देशकै ऐतिहासिक सम्पदा भएको उल्लेख गरे। कुनै समय नेपालको अन्य भूभागसँग जोडिन भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको दोधारा चाँदनीलाई प्रत्यक्ष रूपमा देशका अन्य भूभागसँग जोड्न पुलले महत्त्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे।

२०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक सांसद निर्वाचित भएपछि तत्कालीन प्रतिनिधिसभामा आफूले महाकाली नदीमा झोलुंगे पुल निर्माण गरी दोधारा चाँदनी जोड्नुपर्ने प्रस्ताव राख्दा कतिपयले असम्भव भन्दै ठट्टा गरेको लेखकले बताए।

तर, नेपाल सरकारको बजेट, नेपाली प्राविधिक र नेपाली निर्माणकर्ताबाट पुल निर्माण गर्न सफल भएको उनले उल्लेख गरे। उनका अनुसार यस पुलको निर्माणपछि नेपालका अन्य स्थानमा समेत लामो झोलुंगे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा सहयोग पुगेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.