अत्तरिया । बाजुराको बुढीगंगा नगरपालिकाले प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा काठमाडौंस्थित विशेष अदालतले पाँच जनालाई तीन महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
फैसलाअनुसार सजाय पाउनेमा बुढीगंगाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन इन्जिनियर पारस खाती, जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र तत्कालीन सब–इन्जिनियर गणेश राज रेग्मी छन्।
यसै मुद्दामा अन्य नौ जना प्रतिवादीले भने सफाइ पाएका छन्। सफाइ पाउनेमा तत्कालीन अधिकृत छैटौँ प्रशासन नरेन्द्र नाथ, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, तत्कालीन लेखापाल नवराज जोशी, तत्कालीन खरिदार श्यामबहादुर खत्री र तत्कालीन शिक्षा अधिकृत जयराज न्यौपाने छन्।
त्यस्तै, असिस्टेन्ट सब–इन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, तत्कालीन प्रशासन सहायक बसन्तबहादुर थापा र जागृति र एम।के। रनेपाल जेभीका काठमाडौंस्थित आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहले पनि सफाइ पाएका छन्।