विपन्न विद्यार्थीको दशैँमा खुसी भर्दै दुर्गालक्ष्मी नमुना माविकाे खाद्यान्न तथा कपडा वितरण
'हुनेले दिने, नहुनेले लैजाने’ : दुर्गालक्ष्मी माविको मानवीय अभियान
अत्तरिया:- चाडपर्वको खुसी सबै सँग बाँड्ने सामाजिक सन्देश सहित कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विपन्न विद्यार्थी तथा उनीहरूका परिवारलाई खाद्यान्न र कपडा वितरण गरेको छ। बडादशैँ तथा शुभ दीपावलीको अवसरमा आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी चाडपर्वको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विद्यालयले उक्त कार्यक्रम सञ्चालन गरेको हो।

विद्यालयमा अध्ययनरत अत्यन्तै गरिब तथा विपन्न अवस्थाका विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको खाद्यान्न बैंकबाट १ हजार २६६ किलोग्राम खाद्यान्न र कपडा बैंकबाट १७ थान नयाँ कपडा वितरण गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यार्थीलाई खाद्यान्न तथा कपडा वितरण गर्नुका साथै दशैँको शुभकामना आदानप्रदान समेत गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताका अनुसार विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, नियमित उपस्थिति र आत्मविश्वासमा देखिएका समस्याबारे अध्ययन गर्ने क्रममा उनीहरूको पारिवारिक तथा आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको पाइएको बताए। पढाइमा कमजोर, विद्यालयमा कम उपस्थित हुने तथा आत्मविश्वासको कमी भएका विद्यार्थीको अवस्थाबारे जानकारी लिन विद्यालयले घरमै पुगेर अध्ययन समेत गरेको थियो। सो क्रममा कतिपय विद्यार्थी भोकै विद्यालय आउनुपर्ने, घरायसी वातावरण तनावपूर्ण हुने तथा आर्थिक अभाव र पारिवारिक विखण्डनका कारण बालबालिकाको पठनपाठन प्रभावित हुने गरेको पाइएको प्रधानाध्यापक महताले बताए।
उनका अनुसार विद्यालयमा अभिभावक विहीन तथा अत्यन्तै नाजुक आर्थिक अवस्थाका परिवारका बालबालिका समेत अध्ययनरत छन्। यस्ता विद्यार्थीलाई आधारभूत आवश्यकता
बाट वञ्चित हुन नदिन र उनीहरूको पढाइमा सुधार ल्याउन विद्यालयले खाद्यान्न तथा कपडा बैंक स्थापना गरी सहयोग अभियान अघि बढाएको बताए। ‘आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी चाडपर्वको खुसीबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको प्रधानाध्यापक महताले भने।
उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक, कर्मचारी तथा विद्यार्थीको सहभागितामा ‘एक जनाले एक किलो भए पनि अन्नदान गर्ने’ अवधारणा सहित खाद्यान्न संकलन अभियान सुरु गरिएको बताए । संकलित खाद्यान्न प्रत्येक महिनाको अन्त्यमा समस्यामा रहेका विद्यार्थीका परिवारलाई वितरण गर्ने योजना विद्यालयले बनाएको छ।
खाद्यान्न र कपडा जस्ता आधारभूत आवश्यकतामा सहयोग पुर्याउँदा विद्यार्थीमा अपनत्व, सम्मान र खुसीको अनुभूति बढ्ने तथा उनीहरूको नियमित उपस्थिति र पढाइमा समेत सकारात्मक सुधार आउने अपेक्षा गरिएको महताले बताए।
उनले विद्यालयमा अध्ययनरत अत्यन्तै विपन्न, अभिभावक विहीन तथा सहाराको आवश्यकता भएका विद्यार्थीको पठनपाठनलाई सहज बनाउन सम्बन्धित निकाय, संघसंस्था र सहयोगी मन भएका व्यक्तिहरूलाई समेत सहयोगका लागि आग्रह गरेका छन्।
‘हुनेले दिने, नहुनेले लैजाने’ : दुर्गालक्ष्मी माविको मानवीय अभियान

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईका अनुसार ‘हुनेले दिने, नहुनेले लैजाने’ मूल उद्देश्य सहित विद्यालयले खाद्यान्न तथा कपडा वितरण अभियान सञ्चालन गरेको बताए। आर्थिक अवस्था कमजोर भएका र दैनिक गुजारा चलाउन समेत कठिनाइ भोगिरहेका विद्यार्थी तथा उनीहरूका परिवारलाई लक्षित गरी यो अभियान अघि बढाइएको उनले बताए। भट्टराईले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले शैक्षिक गतिविधि सँगै विभिन्न सामाजिक तथा मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। सामुदायिक विद्यालयले विद्यार्थीको शैक्षिक विकासमा मात्र सीमित नभई समाजका समस्या प्रति पनि संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
‘हामीले विद्यालयलाई शिक्षाको केन्द्रका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रूपमा पनि अघि बढाउन खोजेका छौँ। एउटा विद्यालयले गरेको यस्तो प्रयासबाट अन्य विद्यालयले पनि प्रेरणा लिन सकून् भन्ने हाम्रो अपेक्षा छ,’ अध्यक्ष भट्टराईले भने।
आउँदै गरेको विजयादशमीलाई लक्षित गरी विद्यालयले पहिचान गरेका अति विपन्न विद्यार्थीका परिवारलाई खाद्यान्न तथा कपडा वितरण गरिएको उनले बताए। सहयोगको मात्रा सानो भए पनि समस्यामा परेका परिवारलाई राहत पुर्याउने र उनीहरूको अनुहारमा खुसी ल्याउने प्रयास गरिएको उनको भनाइ छ।
आगामी दिनमा पनि वास्तविक रूपमा सहयोगको आवश्यकता भएका विद्यार्थी तथा विपन्न परिवारलाई पहिचान गरी थप सहयोगका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता अध्यक्ष भट्टराईले व्यक्त गरे। विद्यालय परिवार, अभिभावक, विद्यार्थी र समुदायबीच सहकार्य बढाउँदै आवश्यकतामा रहेका बालबालिकालाई सहयोग गर्ने संस्कृतिको विकास गर्न यस अभियानले प्रेरणा दिने अपेक्षा गरिएको जनाएकाे छ। विद्यालयले यस्ता अभियानलाई निरन्तरता दिन सके आर्थिक अभावमा रहेका बालबालिकाको पठनपाठन सहज बनाउन र उनीहरूमा आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास लिएको छ।
विद्यालयले सञ्चालन गरेको यस सामाजिक अभियानले आर्थिक अभावमा रहेका विद्यार्थीको परिवारलाई चाडपर्व मनाउन सहयोग पुर्याउनुका साथै सामुदायिक विद्यालयले शैक्षिक गतिविधि सँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्न सक्छ भन्ने सन्देश दिएको छ।