अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ चैतन्यपुरमा भोलि आईतबार देखि शारदीय नवरात्रा दुर्गापूजा, रामकथा, रामलीला तथा श्रृङ्गारिक महाआरती आयोजना हुने भएको छ । चैतन्यपुरस्थित नवदुर्गा भगवती मन्दिर समितिको आयोजनामा हुने उक्त कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा भएको कार्यक्रमका युवा संयोजक उत्तम महराले जनाकारी दिए । उनका अनुसार भोलि (आईतबार) दिउँसो १ बजे गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले कार्यक्रमको उद्घाटन गर्नेछन् ।
कार्यक्रम धर्म तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा धार्मिक, नैतिक र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपाली भाषाका शृङ्गारिक प्रखर कथावाचक अच्युत शरण महाराज धितालद्वारा रामकथा वाचन गरिनेछ । राष्ट्रिय उद्घोषिका समीक्षा दास गिरीको विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । उक्त धार्मिक कार्यक्रमलाई सफल पार्नका निमित्त आयोजकले सम्पुर्णमा उपस्थितीका लागि अनुरोध समेत गरेको छ ।
कार्यक्रमअन्तर्गत बिहान ९ बजेदेखि ११ बजेसम्म श्रीमद्भागवत पाठ, पूजाअर्चना तथा १०८ शालिग्राम परिक्रमा हुनेछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म कथा प्रवचन, भजनकीर्तन, दिव्य झाँकी, आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण गरिनेछ । यस्तै, साँझ ७ः३० बजेदेखि राति १०ः३० बजेसम्म देवी चर्चा, रामकथा प्रवचन, भजनकीर्तन तथा झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । एक दिनको आरतीकर्ता बन्न इच्छुकले रु. ३ हजार १०० तथा ब्राह्मण भोजनका लागि रु. १ हजार ५०० सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।