कञ्चनपुरमा नाबालकमाथि खुकुरी देखाएर कुटपिट, पाँच जना पक्राउ

कञ्चनपुर  : कञ्चनपुरको बेलौरीमा नाबालकमाथि खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी नाम सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका–१, रतनपुरका एक नाबालकमाथि धारिलो हतियार खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरिएको घटनामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलीप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।

प्रहरीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय बेलडाँडीमा जानकारी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा घटनामा संलग्न रहेको आरोप लागेका पाँचै जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनामा अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग एवं अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.