धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक श्रव्य सामग्री तथा उनीमाथि उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपलाई गम्भीर र संवेदनशील विषयका रूपमा लिइएको उल्लेख छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
सुनारमाथि लागेका आरोपको अनुसन्धानमा राज्यका सम्बन्धित निकायलाई सहयोग गर्ने र उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाइएको पार्टीले जनाएको छ।
सांसद सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियोसहितको समाचार सार्वजनिक गरेको थियो। उक्त विषयमा पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन लागेको हो।