चौमालामा कांग्रेस कैलाली क्षेत्र नं. ४ (क) को नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा शपथ ग्रहण सम्पन्न
चौमाला : नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ (क) क्षेत्रीय प्रदेश कार्यसमितिको आयोजनामा नवनिर्वाचित कार्यसमितिको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
क्षेत्रीय प्रदेश सभापति हेमन्तराज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवाल रहेका थिए भने विशिष्ट अतिथि कांग्रेस क्षेत्रीय सभापति सुरत कार्कीको उपस्थिति रहेको थियो।
कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सचिव एवं महाधिवेशन प्रतिनिधि पूर्ण कुँवर, वसन्त रोकाया (ललित), लोकराज पाण्डे (आगो), विष्णुप्रसाद भाट, पुष्पराज जोशी, दिनेश कलेल, सीपी सापकोटा, गौरीगंगा नगर सभापति हृदय थापा, गोदावरी नगर सभापति रविन्द्र शाही (गुड्डु) लगायत पार्टीका विभिन्न तहका नेता, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनीहरूले नेपाली कांग्रेसको गौरवशाली इतिहास, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक एकतालाई आत्मसात् गर्दै पार्टीलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन नवनिर्वाचित नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
वक्ताहरूले पार्टीभित्र आपसी एकता, सहकार्य, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकतामा राख्दै नेता तथा कार्यकर्ताबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने धारणा व्यक्त गरे। साथै, आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै संगठन विस्तार, क्रियाशील सदस्यहरूको सक्रियता अभिवृद्धि तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै पार्टीलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापना गरिएको थियो। साथै, प्रदेश महाधिवेशन प्रतिनिधिहरूलाई क्षेत्रीय प्रदेश सभापति हेमन्तराज जोशी (बाजे) ले शपथ ग्रहण गराएका थियो । कार्यक्रममा नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा एकआपसमा शुभकामना आदान–प्रदानसमेत गरिएको थियो।
कार्यक्रमको समापन गर्दै सभापति जोशीले उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अग्रज नेता, कार्यकर्ता तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आफूहरूले प्राप्त गरेको जिम्मेवारीलाई इमानदारी, निष्ठा र पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै सबैलाई समेटेर संगठनलाई एकताबद्ध, सशक्त र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्षेत्रीय प्रदेश कार्यसमितिका सचिव शंकर सिंह ऐरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सह–सचिव लाल पनाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।