अत्तरिया : प्रधानमन्त्री वालेन्द्र शाह राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन्। ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज आइतबार दिउँसो १ : ४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि भारतको राजकीय भ्रमणमा जाने भएका हुन्। गत चैत १३ गत प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन्।
प्रधानमन्त्रीसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी भारत भ्रमणमा जानेछन्। त्यहाँ पुगेपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूतसहित केही सदस्य थपिनेछन्।
प्रधानमन्त्री शाह आज दिल्ली ओर्लिंदा त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह भारतीय समय दिउँसो ३ः१५ बजे (नेपाली समय ३ : ३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्नेछन्। त्यसपछि साँझ ६ बजे भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। भेट ताजमहल होटलमा हुनेछ।
भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १० : ४० बजे उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। दुई प्रधानमन्त्रीबिचको भेटवार्तापछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा दुवै पक्षबाट प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
यसपछि प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ : १५ बजे भारतको राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणको अन्तिम दिन सोमबार साँझ ४ः ५० बजे टोलीसहित प्रधानमन्त्री शाह भारतबाट स्वदेश प्रस्थान गर्नेछन्।
भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।