धनगढी : नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले प्रदेशका नौवटै जिल्लामा ट्रफी टूर गर्ने भएको छ ।
रोयल्सले मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने ट्रफी टूरको कार्यक्रम सार्वजनिक गरेको हो । टूरका क्रममा उपाधि जितेको ट्रफी विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र बजारमा प्रदर्शन गरिनेछ भने र्यालीसमेत आयोजना गरिनेछ ।
सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौवटै जिल्लामा पुर्याउन लागिएको बताए । उपाधि जितको खुसी समर्थक र स्थानीय समुदायसँग बाँड्ने उद्देश्यले ट्रफी टूर आयोजना गर्न लागिएको उनको भनाइ छ ।
टूर मंसिर १३ गते अछामको बैजनाथ मन्दिरबाट सुरु हुनेछ । बिहान ८ः३० बजे ट्रफी प्रदर्शनपछि ९ः३० देखि ११ः३० बजेसम्म बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म र्याली हुनेछ । सोही दिन दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्याली आयोजना हुनेछ ।
मंसिर १४ गते डोटीको शैलेश्वरी मन्दिरमा बिहान ९ बजे ट्रफी प्रदर्शन गरिनेछ । त्यसपछि शैलेश्वरी मन्दिरदेखि दीपायल बजारसम्म र्याली हुनेछ । दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्याली र साँझ ६ः३० बजे उग्रतारा मन्दिरमा पूजा गरिने कार्यक्रम छ ।
मंसिर १५ गते बैतडीको निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन र गोठलापानीमा र्याली हुनेछ । मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा ट्रफी पुर्याएपछि खलंगा बजारमा र्याली आयोजना गरिनेछ ।
त्यस्तै, मंसिर १७ गते बझाङको चैनपुर बजारमा र्याली हुनेछ भने मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी प्रदर्शन गरिनेछ ।
मंसिर १९ गते कैलालीका विभिन्न स्थानमा ट्रफी पुर्याइनेछ । बिहान टीकापुर पार्कबाट सुरु हुने कार्यक्रमअन्तर्गत चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म ट्रफी लगिनेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगर बजारदेखि दोधारा चाँदनी पुलसम्म र्याली आयोजना हुनेछ ।
ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा कार्यक्रम हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म धनगढी चौराहादेखि महोत्सव मैदानसम्म र्याली निकालिनेछ । साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन गरिने रोयल्सले जनाएको छ ।