यसरी ठडियो अत्तरियामा राजा महेन्द्रको शालिक

अत्तरिया : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका अत्तरियामा राजा महेन्द्रको शालिक फेरि ठडिएको छ। शालिक पुनर्निर्माण समिति गोदावरी अत्तरियाले सोमबार कार्यक्रम आयोजना गर्दै उक्त शालिक ठड्याएको हो। शालिक निर्माणका लागि विभिन्न व्यक्ति एंव व्यवसयाीहरुले आर्थिक सहयोग गरेका थिए ।

शालिकको लोमस गिरिजी महाराज मठाधिश निरन्जनी अखाडाले अनावरण गरेका छन्। यस्तै, बाजागाजासहित स्थानीय र समितिका पदाधिकारीले भत्किएको शालिक फेरि राखिएको भन्दै खुसीयाली मनाएका थिए। अत्तरिया चोक कुरूप बनेको र इतिहास बचाउने भन्दै राजा महेन्द्रको जनआन्दोलनका बेला भत्काइएको शालिक फेरि राखिएको शालिक पुनर्निर्माण समितिका अध्यक्ष हरिदत्त भट्टराईले बताए।

उनका अनुसार १० लाख रुपैयाँ खर्चिएर महेन्द्रको शालिक पुनः राखिएको हो। निर्माण कम्पनी र कृषि व्यवसायमा आवद्ध नेपाली कांगेसका महाधिवेशन प्रतिनिधि हरिदत्त भट्टराईको अध्यक्षतामा २१ सदस्यीय शालिक पुनर्निर्माण समिति बनाइएको थियो। उक्त समितिमा एमाले, कांग्रेस, राप्रपाका सदस्य छन्। माओवादीका भने नरहेको उनले बताए।

‘शासन व्यवस्था जेसुकै आए पनि ऐतिहासिक महत्वका चिजको संरक्षण गर्न शालिक बनाएर फेरि राखिएको हो,’ भट्टराईले भने। पछाडिको पिँढीलाई इतिहासका शासकबाट राम्रा के काम भए भन्नेबारे जानकारी दिन आवश्यक रहेको उनको भनाइ छ। शालिकसँगै नेपालको चुच्चे नक्सा पनि धातुबाटै बनाएर चोकमा राखिने उनले बताए। बजेटले भ्याए वरिपरि पानीको फोहरा पनि बनाइने छ।

अत्तरिया सुदूरपश्चिम विभिन्न स्थान जान मिल्ने चोक हो। धनगढी, महेन्द्रनगर, डडेल्धुरा र चिसापानीबाट आएका बाटा यहीँ मिसिन्छन्। अत्तरिया चोकमा २०४३ सालमा राजा वीरेन्द्र र रानी ऐश्वर्याले महेन्द्रको शालिक अनावरण गरेका थिए। सुदूरपश्चिमलाई पूर्व–पश्चिम राजमार्गले भर्खरै जोडेको त्यो बेला राजा महेन्द्रको निकै चर्चा थियो।

दोस्रो जनआन्दोलनका बेला त्यो शालिक ढालिएको थियो। शालिकका खुट्टा भाँचिएपछि तल खसेको थियो। त्यसको टाउकाको भाग फुटाइएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.