भारतसँगको खराब हारमा पाकिस्तानलाई चोटैचोट, तेज बलर रौफ र नसिमले बाँकी खेल गुमाउन सक्ने

काठमाण्डौ : एसिया कपको सुपर फोरमा सोमबार पाकिस्तानले भारतसँग खराब हार ब्यहोर्‍यो । भारतले पाकिस्तानविरुद्ध ३५७ रनको लक्ष्य दिएर २२८ रनको जित हात पारेको छ।

पाकिस्तानविरुद्ध भारतले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि यति धेरै रन बनाउन सकेको थिएन भने यति फराकिलो रन अन्तरले जित पनि हात पारेको थिएन। त्यसबाहेक पूर्व कप्तान विराट कोहली एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलमा १३ हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन्।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनी १३ हजार रन पुरा गर्ने पाचौँ ब्याट्सम्यान हुन्। भारतले यो खेलमा पहिलो विकेटका लागि एक सय २१ र तेस्रो विकेटका लागि २ सय ३३ रनको साझेदारी गरेको थियो। केएल राहुल र कोहलीले सतक पुरा गरे। राहुल र कोहलीले गरेको साझेदारी भारतले पाकिस्तानविरुद्ध कुनैपनि विकेटका लागि गरेको अहिलेसम्मकै सबैभन्दा बढी हो।

विश्वकपको पूर्व सन्ध्यामा चिरत प्रतिद्धन्द्धीसँग व्यहोरेको यो हार पाकिस्तानका लागि यत्तिमै सिमित छैन। दुई प्रभावशाली तेज बलर ह्यारिस रौफ र नसिम शाहले चोट पनि बोकेका छन्। दुवैले प्रतियोगिताका बाँकी खेलहरु गुमाउन सक्ने अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। पाकिस्तानी टोलीमा ब्याक अपका लागि साहनवाज दहानी र जमान खानलाई बोलाइएको छ। रौफले भारतविरुद्ध ५ ओभर मात्र बलिङ गरेका थिए। पाकिस्तानले सुपर फोरमा अब श्रीलंकासँग खेल्न बाँकी छ। यो खेल जितेको अवस्थामा मात्र उसको फाइनल पुग्ने सम्भावना कायम रहने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.