अत्तरिया, १७ असोज : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा बुधबारबाट सुरु भएको लोटस आई क्रिकेट कप प्रतियोगीतामा सैनिक आवाशिय महाविद्यालयले विजयी भएको छ ।
अत्तरिया क्रिकेट क्लबको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगीताको उद्घाटन खेलमा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयलाई ७६ रनले पराजित गर्दै सैनिक आवाशियले प्रतियोगीतामा विजयी सुरुवात गरेको हो ।
टस हारेर व्याटिङ को निम्तो पाएको सैनिक आवाशियले १९.५ ओभरमा सबै विकेट गुमाउदै १११ रन बनाउन सक्यो । सैनिकका लागि ओपनर सुशिल चन्दले ४६ रनको पारी खेले । उनकै पारीका कारण सैनिकले निर्धारित २० ओभरमा सम्मानजनक स्कोर बनाउन सकेको थियो । चन्द बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेका थिएनन् । बलिङमा लोटस आईका आर्यन बोगटीले २ ओभर बलिङ गरेर ३ विकेट लिएका थिए । यस्तै योगेश खातीले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए ।
११२ रनको सामान्य लक्ष्य पाएको लोटस आई ११.३ ओभरमा सबै विकेट गुमाउदै ३५ रनमा समेटियो । लोटस आईका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सैनिक आवाशियका सुशिल चन्दले ४ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चिएका थिए ।
त्यस्तै प्रेम बोहराले २ ओभरमा ८ रन खर्चिएर ३ विकेट लिए । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रर्दशन गरेका सैनिक आवाशियका खेलाडी सुशिल चन्द खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार र ट्रफि प्राप्त गरे । प्रतियोगीतामा बिहिबार दुई ओटा खेल हुने आयोजकले जनाएको छ । बिहिबारको पहिलो खेल बिहान ९ बजे सत्यवती एकेडेमी र दुर्गालक्ष्मी नमुना मावि तथा दिउँसो साढे १ बजे ज्योती सेकेण्डरी स्कुल र जेके सेकेण्डरी स्कुल बिच हुने भएको छ । यस अघि प्रतियोगिताको गोदावरी नगरपालिका नगर प्रवक्ता गोपाल दत्त भट्टले उद्घाटन गरेका थिए । उद्घाटन पश्चात् बोल्दै प्रमुख अतिथि नगर प्रवक्ता गोपाल दत्त भट्टले खेल राष्ट्रकै पहिचान भएको हुँदा क्लबको उक्त कदम सर्हानिय भएको बताए । उनले खेल क्षेत्रको विकासकालागि नगरपालिका तयार रहेको बताए ।
प्रतियोगिता २६ गते सम्म संचालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी टिमहरुलाई लिग चरणमा खेलाइरहेका छन् । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु १ लाख १ हजार सहित ट्रफी र मेडल उपलब्ध गराइने भएको हो । यस्तै दोस्रो हुने टिमलाई ५१ हजार सहित ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । साथै प्रतियोगीतामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक लोटस आई माध्यामिक विद्यालय रहे संगै मुख्य प्रवद्र्धक गोदावरी नगरपालिका रहेको छ ।
सम्बन्धित पाेस्टहरु