अत्तरिया : धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिमा विरामीको आकर्षण बढ्न थालेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा गत आव २०७९÷८० को करिव एक वर्षको अवधिमा १६ हजार ३ सय ८० जना विरामीले सेवा लिएको आयुर्वेदिक चिकित्सालयका वैद्यनिरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार गत आवको असोज ११ गतेदेखि असार मसान्तसम्म विभिन्न रोगका ११ हजार २ सय महिला र ५ हजार १ सय १८ पुरुषले सेवा लिएका छन् । चालु आवको श्रावणदेखि कार्तिक मसान्तसम्म ५ सय ८५ जनाले ओपडी सेवा लिएको चिकित्सालयको तथ्यांक छ ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट विरामी आउने गरेको सूचना अधिकारी शाहीले बताए । ‘उपचारमा आउने विरामीको संख्या बढ्दै गएको छ’ उनले भने ‘एलोपेथिक औषधिको साइड इफेक्ट बढी हुने र आयुर्वेद औषधिको साइड इफेक्ट कम हुने भएकाले पनि बिरामीको संख्या बढ्दैछ’ । ‘नसर्ने रोगका लागि आयुर्वेदमा औषधिदेखि लिएर जीवनशैलीसम्बन्धी परामर्श हुन्छ, त्यसैले यसमा आकर्षण बढी नै छ’ उनले भने । अन्यत्र औषधी गरेर थाकेका विरामीले आयुर्वेद चिकित्सालयमा आएर उपचार गराउँदा सञ्चो हुन लागेकोे बताउने गरेको उनले बताए ।
बाथ, अम्लपित्त, पेटको रोगका विरामी बढी आउने गरेको उनले बताए । २०९७ असोज ११ बाट सेवा सुरु गरेको आयुर्वेक चिकित्सालयमा ओपिडी, एक्सरे, प्याथोलोजी, पूर्वकर्म, पञ्चकर्म सेवा सञ्चालनमा रहेको तथा १ जना होमियोपेथिक र ४ जना आयुर्वेद चिकित्सकले सेवा दिइरहेका छन् । चिकित्सायलयमा विहान ५ वजेदेखि ७ बजेसम्म योग सेवा पनि सञ्चालनमा रहेको जनाइएको छ ।
चिकित्सालयले निकट भविष्यमै अस्पताल फार्मेसी, आइपिडी, पायल्स फिष्टुलाको छारसुत्र (अप्रेशन) सेवाहरु सुरु गर्न लागेको सूचना अधिकारी शाहीले बताए । नेपाल सरकारबाट उपलब्ध हुने २३ थरीको औषधि निःशुल्क पाइने गरेको चिकित्सालयले जनाएको छ । ओपिडी टिकट, एक्सरे, ल्याव सेवाकोे न्युनतम शुल्क लिने गरेको तथा अपांगता भएका र जेष्ठ नागरिकालाई भने पूर्ण निशुल्क सेवा दिने गरेको जनाइएको छ । संघीय सरकारले ०७४ सालदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन निर्माण सुरुगरी ०७८ मा सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । आयुर्वेद चिकित्सालयले ०७९ असोज ११ गतेबाट सेवा सुरु गरेको थियो ।
सम्बन्धित पाेस्टहरु