एलपीएल प्रतियोगिता : सत्यवती एकेडेमी र धनगढी स्पोर्ट्स क्लब फाइनलमा

अत्तरिया : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

फाप्ला क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। फाइनल खेल शनिवार हुनेछ । आज सम्पन्न पहिलो सेमीफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्यो।घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्यो ।

धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान बमले सर्वाधिक २५ रन बनाए । प्रनित थापाले २१ तथा सुनिल धमलाले १८ रन बनाए । घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले २\२ विकेट तथा हरिश बस्नेत र भुपेश जोशी १\१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १६.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो । घोडाघोडीको ब्याटिंगमा नवयुग बस्नेतले सर्वाधिक २५ रन, बिपिन बिक्रम शाहीले १७, दिनेश रावतले १७ तथा संजय बोहराले १२ रन योगदान दिए ।

धनगढी स्पोर्ट्स क्लबको बलिंगमा अमर सिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए । प्लेयर अफ द म्याच घोषित रौटेलाले ४ ओभरमा २१ रन खर्चिए । दिपक चन्द ठकुरीले ३ तथा भोज राज भट्ट, भुवन कार्की र विकास आग्रीले १\१ विकेट लिए । दोश्रो सेमीफाइनलमा सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्यो ।

युथ अफ टिकापुरले दिएको १११ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमीले युथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्यो । सत्यवतीको ब्याटिंगमा ओपनर इमरान शेखले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । सन्दिप रजालीले २३, सन्दिप क्षेत्रीले २१ तथा सन्तोष कार्कीले १२ रन बनाए । युथ अफ टिकापुरका बलर सोलुप चौधरीले २ तथा गौतम केसी र प्रेम शाहले १\१ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको युथ अफ टिकापुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो । टिकापुरको ब्याटिंगमा प्रकाश जैसीले सर्वाधिक ३२ रन, सुमित महर्जनले २० तथा प्रदिप ऐरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सत्यवती एकेडेमीको बलिंगमा सन्तोष कार्कीले सर्वाधिक ३ विकेट लिए। फिर्दोश अन्सारी र अभिषेक कोइरालाले २\२ विकेट तथा त्रित दास र रंजित कुमारले १\१ विकेट लिए । लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.