पिएम कप क्रिकेट : तेस्रो जितसँगै कञ्चनपुर शीर्ष स्थानमा

अत्तरिया : प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा कञ्चनपुरले लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित दर्ता गर्ने क्रममा कञ्चनपुरले बुधवार अछामलाई ६ विकेटले हरायो।

जितका लागि पाएको ९० रनको सामान्य लक्ष्य कञ्चनपुरले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जसमा किरण ठगुन्नाले ३१ र प्रकाश पाण्डेले अविजित २५ रनको योगदान गरे। अछामका रोहित खड्काले २, युवराज खत्री र अभिषेक चौधरीले १\१ विकेट लिए।

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरु हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा २८ ओभरमा झारिएको थियो । अछामले टस जितेर पहिला ब्याटिङ गरेको २३.२ ओभरमा ८९ रनमा समेटियो । उसका सुरज तिरुवाले ३० तथा युवराज खत्रीले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन समेत जोड्न सकेनन् । अछामलाई सस्तैमा समेट्न कञ्चनपुरका दीपक चन्द एक्लैले ५ विकेट लिए। यस्तै भरत चन्दले ३ विकेट झारे। दीपक खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए ।

यो जितसँगै कञ्चनपुर ६ अङ्कका साथ शीर्ष स्थानमा पुग्दै फाइनलको सम्भावना बलियो बनाएको छ। कञ्चनपुरले अब अन्तिम खेल शनिवार बैतडीसँग खेल्नेछ। लगातार तेस्रो हार व्यहोरेको अछाम भने प्रतियोगिताबाटै बाहिरिसकेको छ। उसले अन्तिम खेल अब शुक्रवार बझाङसँग खेल्नेछ। दुई खेलमा दुवै जितेको बैतडी अङ्कतालिकाको दोस्रो स्थानमा छ। एकमा हार र एकमा जित निकालेको कैलाली तेस्रो र दुवै खेल हारेको बझाङ पुछारबाट दोस्रो स्थानमा छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पुस १४ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.