काठमाण्डौैँ : ओपनर अनिल साह र भीम सार्कीको शतकमा नेपालले क्यानडाविरुद्धको तीन खेलको ओडिआई सिरिज क्लीन स्वीप गरेको छ । सोमबार भएको खेलमा घरेलु टोली नेपालले पाहुना टोलीलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सिरिज क्लीन स्वीप गरेको हो ।
क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । क्यानडाविरुद्धको जितमा अनिल र भिम दुवैले शतक पूरा गरे । नेपालका लागि कुनै पनि ओडिआई खेलमा दुई खेलाडीले शतक पूरा गरेको यो पहिलो पटक हो ।
दोस्रो विकेटका लागि अनिल र भिमले १ सय ८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई सहज दिल निकाले । यो अघि दोस्रो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले जिम्बाबे विरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
अनिल १ सय १२ र भिम १ सय १ रनमा अविजित रहे । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहर गर्दै अविजित रहे । अन्तराष्टिय ओडीआई करियरमा अनिलको यो पहिलो शतक हो ।
अनिलले ४१ औँ ओभरको तेस्रो शलमा शतक पूरा गरेका हुन् । अनिलले १ सय १६ बलमा ११ चौका र १ छक्का मद्धतमा शतक पूरा गरे ।
आक्रमक ब्याटिङ गरेका अनिलले १५ औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गरे । अनिलले ५१ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरेका थिए ।
भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का हान्दै १ सय १ रनमा नटआउट रहे । भिमले ४५ औँ ओभरको अन्तिम बलमा शतक पूरा गरे ।
भीमले १ सय २७ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै शतक हानेका हुन् । ओडिआई करियरमा भिमको यो पहिलो शतक हो । यसअघि भीमले ३१ औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । भिमले ७८ बलमा ५ चौका मद्धतमा अर्धशतक पूरा गरे ।
ओपनर कुशल भुर्तेल १३ रनमा बोल्ड आउट भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निधौरित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रनको योगफल तयार पारेको हो ।
क्यानडाका नवनित डालिवाल अर्धशतक बनाएर आउट भए । ८२ बलमा ५ चौका हानेका नवनित ५० रनमा ललित राजवंशीको बलमा आकाश चन्दको हातबाट क्याच आउट भए । निखिल दत्ता ४५ रनमा रन आउट भए । ६२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै पेभेलियन फर्के ।
हर्ष ठाकर २९ रन बनाउँदा कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे । र्यास मोभ्भा २५ रन बनाउँदा हेमन्त धामीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए ।
माथा विजयरथे २२ रन बनाउँदा आकाशको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे । ओपनर आरोन जोनसन ४ तथा निकोलस किर्तन ३ रनमा पेभेलियन फर्के। डिलोन हेलिगेर ४ रनमा नै क्याच आउट भए । कप्तान सद विन जफर ३१ र साहिद अमदजाइ ५ रनमा अविजित रहे ।
नेपालका लागि हेमन्त धामीले ३ विकेट लिए । सिनियर टोलीमा डेब्यु खेल खेलिरहेका हेमन्तले ८ ओभरमा ४९ रन खर्चे । नेपालबाट ओडिआई खेल्ने हेमन्त ४१ औँ खेलाडी हुन् । कुशल मल्लले २ विकेट लिए। कुशलले आफ्नो स्पेलमा १ मेडन राख्दै ३८ रन खर्चे ।
ललित राजवंशी र आकाश चन्दले समान एक विकेट आफ्नो नाममा गरे । नेपालले पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमान्चक जित निकालेको थियो । दोस्रो खेलमा ४ विकेटले हराएको थियो ।